
काठमाडौँ । माओवादी केन्द्र छाडेर प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)मा प्रवेश गरेको छोटो समयमै नेता राम कार्कीले पार्टीबाट अलग भएको घोषणा गरेका छन् । पार्टीभित्र देखिएको वैचारिक विचलन र निर्वाचनकेन्द्रित राजनीति र पार्टी औपचारिक रूपमा विभाजन भएपछि कार्कीले पार्टी छाडेका हुन् ।
कार्कीले शुक्रबार सामाजिक सञ्जालमार्फत आफू प्रलोपा गठन भएदेखि नै कुनै पनि कार्यकारी पदमा नरहेको स्पष्ट पार्दै पार्टीबाट अलग भएको घोषणा गरेका छन् । उनले आफू युवा तन्नेरीहरूको पहलमा निर्माणाधीन ‘मार्क्सिस्ट स्कुल अफ प्राक्शिस’मा आबद्ध भएर वैचारिक काममा केन्द्रित हुने बताएका छन्।
प्रलोपा गठनका क्रममा आफूहरूमध्ये अधिकांश संसदीय जडतामा फसेका पुराना पार्टीहरूबाट बाहिरिएर नयाँ राजनीतिक अभियानमा जोडिएको कार्कीको भनाइ छ। तर, पार्टी गठनपछि छोटो समयमै निर्वाचनमुखी राजनीतिमा केन्द्रित हुँदा आफ्नो प्रारम्भिक वैचारिक उद्देश्य कमजोर बन्न पुगेको उनको निष्कर्ष छ ।
कार्कीका अनुसार प्रलोपा निर्वाचनतर्फ नलागी सुरुदेखि नै प्रगतिशील अभियान निर्माणमा केन्द्रित भएको भए पार्टीको अवस्था फरक हुन सक्थ्यो। तर निर्वाचनको राजनीतिमा प्रवेश गरेपछि पार्टीले आफ्नो वैचारिक अडान कायम राख्न नसकेको उनको भनाइ छ।
उनले प्रलोपा विभाजनको अवस्थाबारे टिप्पणी गर्दै नेताहरूको एउटा समूह पुरानो दलसँग जोडिन पुगेको र अर्को समूह अर्कै पुरानो दलसँग सहकार्य गर्न पुगेको उल्लेख गरेका छन्। यसरी निर्वाचनको समयमा नै वैचारिक रूपमा कमजोर बनेको पार्टी अहिले आएर संगठनात्मक रूपमा समेत विभाजित भएको कार्कीको निष्कर्ष छ।
कार्कीले आफू अब सक्रिय दलगत राजनीतिभन्दा वैचारिक अभियानमा केन्द्रित हुने संकेत गरेका छन्। उनले युवा पुस्ताको पहलमा निर्माण भइरहेको ‘मार्क्सिस्ट स्कुल अफ प्राक्शिस’सँग आबद्ध रहने प्रतिबद्धता जनाउँदै आफ्नो आगामी राजनीतिक यात्रा वैचारिक अध्ययन, प्रशिक्षण र अभियान निर्माणमा सीमित रहने बताएका छन्।
‘प्रलोपामा रहँदा साथीहरूले गर्नुभएको न्यानो व्यवहारलाई सदा सम्झिरहनेछु’ भन्दै उनले पार्टीबाट आफू सौहार्दपूर्ण रूपमा अलग भएको उल्लेख गरेका छन्। साथै, प्रलोपा विभाजनपछि बनेका दुवै समूहलाई उनले शुभकामना दिएका छन्।
गत फागुनमा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनअघि कार्की नेकपा माओवादी केन्द्रबाट अलग भएका थिए। त्यसपछि मंसिर ७ गते बाबुराम भट्टराई संरक्षक रहेको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) र राष्ट्रिय स्वतन्त्र पार्टीबाट अलग भएको सन्तोष परियार समूहसँग मिलेर प्रगतिशील लोकतान्त्रिक पार्टी गठन गरिएको थियो।
तर गठन भएको केही समयमै प्रलोपा वैचारिक तथा संगठनात्मक विवादमा फस्यो। अन्ततः पार्टी विभाजन भएपछि कार्कीले आफू कुनै पनि समूहमा नरहने र अब वैचारिक अभियानमा केन्द्रित हुने निर्णय सार्वजनिक गरेका छन्।