
काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले आफ्ना केन्द्रीय सचिवालय सदस्य तथा ब्यूरो नम्बर ५ का इञ्चार्ज तिलकलाई प्रहरीले पक्राउ गरेको भन्दै आपत्ति जनाएको छ ।
पार्टी प्रवक्ता दिपकले शुक्रबार जारी गरेको प्रेस वक्तव्यमा तिलकलाई साउन २१ गते बेलुका घरमै रहेको अवस्थामा नेपाल प्रहरीले ‘बिना कारण र बिना पुर्जी’ पक्राउ गरेको दाबी गरिएको छ। उक्त गिरफ्तारीप्रति पार्टीले घोर आपत्ति र भर्त्सना गरेको जनाएको छ ।
वक्तव्यमा नेपाली जनता र राष्ट्रलाई सबैखाले शोषण, दमन तथा उत्पीडनबाट मुक्त गरी वैज्ञानिक समाजवाद स्थापना गर्ने उद्देश्यसहित पार्टी निर्माण गरिएको उल्लेख छ। सोही उद्देश्यअनुसार जनतामाझ विभिन्न कार्यक्रम सञ्चालन गर्दै संगठन विस्तार र संघर्षमा पार्टी निरन्तर सक्रिय रहेको दाबी गरिएको छ ।
पार्टीले जिम्मेवार नेतामाथि गरिएको गिरफ्तारीलाई नागरिकको मौलिक हक तथा नेपालको संविधानको भावनाविपरीत भएको आरोप लगाएको छ ।
त्यस्तै, ‘जेन्जी आन्दोलन’पछि भएको निर्वाचनबाट गठन भएको सरकारले विगतका सरकारका राष्ट्रघाती तथा जनविरोधी गतिविधिलाई बिर्साउने गरी जनता तथा क्रान्तिकारी पार्टीका नेता-कार्यकर्तामाथि राज्यशक्ति प्रयोग गरिरहेको आरोप पनि पार्टीले लगाएको छ ।
सरकार गठन भएयता सुकुम्बासी बस्तीमा डोजर चलाइएको, प्रधानमन्त्रीले संसद्मा देशविरुद्ध अभिव्यक्ति दिएको तथा अन्तर्राष्ट्रिय बजारमा मूल्य घट्दा नेपालमा पेट्रोलियम पदार्थको मूल्य बढाइएको जस्ता गतिविधि राष्ट्र तथा जनविरोधी भएको पार्टीको आरोप छ ।
यस्ता गतिविधिविरुद्ध आफ्नो पार्टीले निरन्तर आन्दोलन गर्दै आएको र त्यसैको प्रतिशोधस्वरूप तिलकलाई पक्राउ गरिएको पार्टीको दाबी छ ।
पार्टीले पक्राउ परेका तिलकलाई ‘ससम्मान’ तत्काल रिहा गर्न सरकारसँग जोडदार माग गरेको छ। माग पूरा नभए सशक्त आन्दोलन गर्न बाध्य हुने चेतावनीसमेत दिइएको छ ।
साथै पार्टीले तिलकको गिरफ्तारीविरुद्ध आवाज उठाउन नागरिक समाज तथा देशभक्त शक्तिहरूसँग अपिल गरेको छ ।
