
जनकपुरधाम । जिल्ला अदालत धनुषामा मिटरब्याजसम्बन्धी मुद्दामा थुनछेक बहस चलिरहेका बेला अदालतको मुख्य गेटअगाडि एक महिलाले आत्मदाहको प्रयास गरेकी छन् ।
जनकपुरधाम उपमहानगरपालिका-३ की फूलकुमारी रजकले बुधबार बिहान मिटरब्याज पीडितहरूको प्रदर्शनका क्रममा आफ्नै शरीरमा पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेकी हुन्।
अदालतमा मिटरब्याजी हरेराम साह र गोपाल साहको थुनछेक बहस चलिरहेको थियो । अदालतबाहिर भेला भएका मिटरब्याज पीडितहरूले दोषीलाई कारबाही गर्न माग गर्दै प्रदर्शन गरिरहेका थिए । सोही क्रममा रजकले हरेराम साह र गोपाल साहलाई कारबाही गर्नुपर्ने माग राख्दै आत्मदाहको प्रयास गरेको बताइएको छ ।
प्रहरीका अनुसार शरीरमा पेट्रोल छर्किसकेको अवस्थामा प्रहरी निरीक्षक अरविन्द साह नेतृत्वको टोलीले तत्काल उनलाई नियन्त्रणमा लिएर उद्धार गरेको थियो । घटनामा कुनै मानवीय क्षति हुन नपाएको प्रहरीले जनाएको छ ।
घटनापछि धनुषा जिल्ला अदालत परिसरको सुरक्षा व्यवस्था थप कडा पारिएको छ। प्रहरीले अदालत परिसरमा प्रदर्शन तथा सम्भावित अप्रिय घटना हुन नदिन निगरानी बढाएको जनाएको छ।