
काठमाडौँ । रुकुम पश्चिमको चौरजहारी नगरपालिकाका नगर प्रमुख पुष्प वादीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको भ्रष्टाचार मुद्दामा विशेष अदालतले सफाइ दिएको छ। अदालतले वादीविरुद्ध घुस लिएको पुष्टि हुने वस्तुनिष्ठ प्रमाण अभियोजन पक्षले पेस गर्न नसकेको ठहर गर्दै सफाई दिएको हो ।
विशेष अदालत काठमाडौँ इजलास नं. १ का अध्यक्ष बासुदेव आचार्य तथा सदस्यद्वय हेमन्त रावल र विदुर कोइरालाको इजलासले वादीसहित मुद्दाका अर्का प्रतिवादी मोहन शाहलाई समेत आरोपदाबीबाट सफाइ दिने फैसला गरेको थियो ।
चौरजहारी नगरपालिकामा असिस्टेन्ट सब–इन्जिनियरका रूपमा करारमा कार्यरत शाहले आफ्नो करार अवधि थप गर्न नगर प्रमुख वादीलाई एक लाख रुपैयाँ घुस दिएको आरोप लगाएका थिए । शाहले वादीको लक्ष्मी सनराइज बैंकमा रहेको खातामा २०८० साउन ८ गते एक लाख रुपैयाँ जम्मा गरेको बैंक भौचर पेस गर्दै अख्तियारमा उजुरी दिएका थिए ।
उक्त रकम जम्मा गरेपछि आफ्नो करार अवधि थप गरिएको र रकम घुसबापत दिएको शाहको दाबी थियो । सोही उजुरीका आधारमा अख्तियारले अनुसन्धान गरी वादीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।
तर, विशेष अदालतले शाहको उजुरीलाई विश्वासप्रद मान्न सकिने अवस्था नरहेको ठहर गरेको छ । अदालतका अनुसार २०८०।८१ का लागि करार अवधि थप भएपछि शाहको २०८१।८२ मा समेत म्याद थप भएको र २०८२।८३ मा मात्रै म्याद थप नभएको देखिएको छ ।
अदालतले रकम बैंक खातामा जम्मा गर्नुअघि वादीले घुस मागेको वा शाहलाई घुस दिन बाध्य पारेको प्रमाण नदेखिएको जनाएको छ । त्यस्तै, रकम दिएको समयमा वा त्यसलगत्तै शाहले अख्तियारमा उजुरी गरेको समेत नदेखिएको फैसलामा उल्लेख छ ।
वादीले अदालतमा आफू पोखरा जानुपर्ने भएकाले तत्कालका लागि शाहसँग सापटी लिएको र बैंक खातामा जम्मा भएको उक्त रकम २०८० साउन ३१ गते नै साक्षीको रोहबरमा नगद फिर्ता गरेको बयान दिएका थिए । शाहको करार अवधि २०८२।८३ मा थप नभएपछि रिसइवीका कारण झुटो उजुरी दिएको उनको दाबी थियो ।
विशेष अदालतले एउटै कार्यालयमा कार्यरत वादी र शाहबीच भएको आर्थिक कारोबार घुसबापतको रकम हो भन्ने देखाउने वस्तुनिष्ठ प्रमाण अभियोजन पक्षबाट पेस हुन नसकेको ठहर गर्दै वादीलाई आरोपदाबीबाट सफाइ दिएको हो ।
त्यस्तै, अदालतले शाहले पनि करार अवधि थप नभएपछि तीन वर्षअघिको बैंक कारोबारलाई घुसबापतको रकम भन्दै उजुरी दिएको र उनको अनुसन्धान तथा अदालतमा भएको बयानलाई स्वतन्त्र एवं विश्वसनीय प्रमाणले पुष्टि गर्न नसकेको जनाएको छ । वादीले सफाइ पाएको अवस्थामा शाहविरुद्धको आरोपसमेत पुष्टि हुन नसकेको ठहर गर्दै उनलाई समेत सफाइ दिइएको छ ।
विशेष अदालतले पूर्ण फैसलाको पाठ तयार गर्न समय लाग्ने भन्दै हाल संक्षिप्त फैसला सुनाएको हो ।

