
काठमाडौँ । बुधबार दिउँसो भेरी नदीमा जिप खस्दा चालक र जिप धनी बेपत्ता भएका छन् । सल्यानको वनगाड कुपिण्डे नगरपालिका-१ बाङ्गीरहनजिकै जिप भेरी नदीमा खस्दा चालक र जिप धनी बेपत्ता भएका हुन् ।
दिउँसो बालुवा सङ्ग्रहबाट सल्लीबजारतर्फ जाँदै गरेको लु १ ज ३०२२ नम्बरको जिप जाजरकोट-छिन्चु बाङ्गीरहनजिकै भेरी नदीमा खसेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।
प्रहरीका अनुसार जिपमा चार जना सवार थिए । तीमध्ये दुई जना कुपिण्डे नगरपालिका-१, आँपखोलीका २९ वर्षीय प्रेम बिक र सोही स्थानका २१ वर्षीय खुमलाल पौडी खेलेर सकुशल नदीबाट बाहिर निस्किएका छन् ।
बेपत्ता हुनेमा जिप चालकसमेत रहेका दाङका २३ वर्षीय हेमराज बीसी सिद्धकुमाख गाउँपालिका-४ का २३ वर्षका भीमबहादुर राना रहेको प्रहरीले जनाएको छ ।
बेपत्ता चालक र जिप धनीको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । घटनाबारे थप विवरण आउन बाँकी छ।