
काठमाडौँ । नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्रा. डा. ढुण्डीराज पौडेल नियुक्त भएका छन् । नियुक्तिपछि उनले स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहतासमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् ।
वरिष्ठ नाक, कान तथा घाँटी (ईएनटी) विशेषज्ञ डा. पौडेल हाल नेपालगञ्ज मेडिकल कलेज, कोहलपुरमा नाक, कान तथा घाँटी विभागका प्रमुख तथा प्राध्यापकका रूपमा कार्यरत छन् ।
चिकित्सा क्षेत्रमा लामो अनुभव हासिल गरेका उनले यसअघि वीर अस्पताल, भेरी अस्पताल, भरतपुर अस्पताल र दाङ अस्पतालमा विभिन्न जिम्मेवारीमा रहेर सेवा गरेका थिए।
डा. पौडेलले त्रिभुवन विश्वविद्यालयअन्तर्गत चिकित्सा शास्त्र अध्ययन संस्थानबाट नाक, कान तथा घाँटी शल्यचिकित्सामा एमएस गोल्ड मेडलसहित उत्तीर्ण गरेका हुन् । उनले सोही संस्थानबाट एमबीबीएस अध्ययन पूरा गरेका छन्।
यसअघि उनी नेपाल मेडिकल काउन्सिलको नैतिकता तथा परीक्षा समितिका कार्यकारी सदस्य तथा समन्वयकर्ताका रूपमा समेत जिम्मेवारीमा रहेका थिए।