मधेशमा जापानीज इन्सेफ्लाइटिसको संक्रमण बढ्दो, १९ संक्रमितमध्ये ६ जनाको मृत्यु

दियोपोस्ट संवाददाता

काठमाडौँ । लामखुट्टेको टोकाइबाट सर्ने प्राणघातक रोग जापानीज इन्सेफ्लाइटिस (जेई) को संक्रमण मधेश प्रदेशमा फैलँदै गएको छ। संक्रमणका कारण मृत्यु हुनेको संख्या पनि उच्च देखिएको छ।

भदौ ५ गतेसम्म मधेश प्रदेशका सात जिल्लाका १५ स्थानीय तहमा गरी १९ जनामा प्रयोगशाला परीक्षणबाट जापानीज इन्सेफ्लाइटिस पुष्टि भएको छ । संक्रमितमध्ये ६ जनाको मृत्यु भएको स्वास्थ्य अधिकारीहरूले बताएका छन् । यो संख्या कुल संक्रमितको करिब ३२ प्रतिशत हो ।

सप्तरीमा सबैभन्दा बढी ६ जनामा संक्रमण पुष्टि भएको छ । तीमध्ये दुई जनाको मृत्यु भएको छ । पर्सामा चार संक्रमितमध्ये दुई जना, धनुषामा तीनमध्ये एक जना र रौतहटमा एक संक्रमितको मृत्यु भएको छ ।

यता, स्वास्थ्य सेवा विभागअन्तर्गत परिवार कल्याण महाशाखाको साउन मसान्तसम्मको पछिल्लो प्रतिवेदनअनुसार देशभर ५८ जनामा प्रयोगशाला परीक्षणबाट जापानीज इन्सेफ्लाइटिस पुष्टि भएको छ । तीमध्ये १६ जनाको मृत्यु भएको प्रतिवेदनमा उल्लेख छ ।

त्यस्तै, महोत्तरीको बर्दिबास, औरही र सम्सी क्षेत्रमा तीन जनामा तथा सिरहाको धनगढीमाई नगरपालिका र बारामा एक-एक जनामा संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये केहीको विभिन्न स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।

उपचारपछि घर फर्किएका बिरामीमा समेत दीर्घकालीन स्वास्थ्य समस्या देखिएको परिवारजनले बताएका छन् । उनीहरूमा बोल्न तथा खाना खान कठिन हुने, मानसिक अवस्था सुस्त हुनेलगायतका शारीरिक तथा मानसिक समस्या देखिएको जनाइएको छ ।

जापानीज इन्सेफ्लाइटिस संक्रमित क्युलेक्स जातको लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने गर्छ । प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक सरोजराज न्यौपानेका अनुसार सर्लाहीबाहेक मधेश प्रदेशका सबै जिल्लामा संक्रमण देखिएको छ ।

निर्देशनालयका खोप सुपरभाइजर लक्ष्मेश्वर झाका अनुसार सप्तरी सबैभन्दा बढी प्रभावित जिल्ला हो । जिल्लाका राजगढ, तिलाठी कोइलाडी, डाक्नेश्वरी र महदेवा क्षेत्रमा संक्रमण देखिएको छ ।

संक्रमण फैलिँदै गएपछि प्रदेश स्वास्थ्य निर्देशक न्यौपानेको नेतृत्वमा विश्व स्वास्थ्य सङ्गठन, खोप सुपरभाइजरलगायतको टोली प्रभावित क्षेत्रमा परिचालन गरिएको छ ।

टोलीले नियमित खोप लगाउन, घरवरपर पानी जम्न नदिन, राति सुत्दा झुलको प्रयोग गर्न तथा शरीर पूरै ढाकिने कपडा लगाउन सर्वसाधारणलाई आग्रह गरेको छ। साथै, हाँस तथा सुँगुर-बङ्गुरका खोर बस्तीभन्दा केही टाढा राख्नसमेत सुझाव दिइएको छ।

उच्च ज्वरो आउने, अत्यधिक टाउको दुख्ने, बान्ता हुने, बेहोस हुने, शरीरमा ऐठन वा झट्का लाग्ने तथा मानसिक अवस्थामा परिवर्तन हुनेजस्ता लक्षण देखिएमा तत्काल नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्न स्वास्थ्य अधिकारीहरूले आग्रह गरेका छन् । विशेषगरी ५० वर्षभन्दा माथिका व्यक्तिमा संक्रमणका कारण मृत्यु बढी देखिएको भन्दै परिवारका ज्येष्ठ सदस्यको स्वास्थ्यमा विशेष ध्यान दिन भनिएको छ ।

यसैबीच, मधेश प्रदेश सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रदेशका आठवटै जिल्लाका स्वास्थ्य कार्यालयलाई जापानीज इन्सेफ्लाइटिसको रोकथाम तथा नियन्त्रणका लागि तत्काल आवश्यक कदम चाल्न निर्देशन दिएको छ । मन्त्रालयले स्थानीय तहसँग समन्वय गरी रोगको जोखिम न्यूनीकरण, जनचेतना अभिवृद्धि, खोपको पहुँच विस्तार तथा प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा प्रभावकारी बनाउन निर्देशन दिएको बताइएको छ ।

स्वास्थ्य अधिकारीहरूले संक्रमणको जोखिम कायमै रहेकाले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेका छन् । उनीहरूले ‘सचेत बनौँ, खोप लगाऔँ, लामखुट्टेको टोकाइबाट बचौँ र जापानीज इन्सेफ्लाइटिसबाट सुरक्षित रहौँ’ भन्ने सन्देशसहित रोकथामका उपाय अपनाउन अपिल गरेका छन् ।