
काठमाडौँ । नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले रसुवाको भोटेकोशी तथा त्रिशूली नदी क्षेत्रमा आएको आकस्मिक बाढीबाट प्रभावित नागरिक तथा पर्यटकको उद्धार र राहतका लागि सहयोग गर्ने भएको छ।
गण्डकी प्रदेशको ३१औँ साधारण सभाका क्रममा सोही समय र स्थानमा बसेको नाट्टा कार्यसमितिको आकस्मिक बैठकले उद्धार तथा राहत कार्यलाई थप व्यवस्थित र प्रभावकारी बनाउन विभिन्न निर्णय गरेको हो।
बाढीका कारण भएको जनधनको व्यापक क्षतिप्रति गहिरो दुःख तथा चिन्ता व्यक्त गर्दै नाट्टाले प्रभावित नागरिक, पर्यटक तथा पर्यटन व्यवसायीहरूको तत्काल उद्धार, उपचार र सुरक्षित स्थानान्तरणका लागि आवश्यक पहल गर्ने जनाएको छ।
नाट्टाले नेपाल सरकार, सुरक्षा निकाय, स्थानीय प्रशासन तथा सम्बन्धित सरोकारवाला निकायलाई उद्धार तथा राहत कार्यमा प्रभावकारी रूपमा परिचालन हुन समेत अपिल गरेको छ।
बैठकले बाढी प्रभावित नागरिक तथा पर्यटकको तत्काल उद्धार, उपचार र सुरक्षित स्थानान्तरणका लागि नेपाल सरकार तथा सुरक्षा निकायसँग निरन्तर समन्वय र सहजीकरण गर्ने निर्णय गरेको छ।
त्यस्तै, आर्थिक सहयोग तथा अत्यावश्यक राहत सामग्री संकलन गर्न ‘नाट्टा विपद् व्यवस्थापन तथा राहत कोष’ स्थापना गरी सञ्चालनमा ल्याउने निर्णय पनि गरिएको छ। उक्त कोषमार्फत नाट्टाका सदस्य संस्था, पर्यटन व्यवसायी तथा शुभेच्छुकहरूबाट सहयोग संकलन गरिने जनाइएको छ।
उद्धार तथा राहत कार्यलाई तीव्रता दिन आवश्यकताअनुसार नाट्टाका सदस्य संस्थाअन्तर्गत रहेका पर्यटक बस, जीप तथा अन्य सवारीसाधन परिचालन गर्ने निर्णय भएको छ।
बाढीका कारण अलपत्र परेका स्वदेशी तथा विदेशी पर्यटकको तत्काल सहायता र समन्वयका लागि २४ घण्टे पर्यटक सहायता आकस्मिक कक्ष स्थापना गरी सञ्चालनमा ल्याइने पनि नाट्टाले जनाएको छ।
यसैगरी सम्पूर्ण राहत तथा उद्धार कार्यलाई व्यवस्थित, प्रभावकारी र पारदर्शी बनाउन नाट्टाको नेतृत्वमा ‘विपद् राहत तथा समन्वय समिति’ गठन गर्ने निर्णय गरिएको छ।
नाट्टाले आफ्ना सम्पूर्ण सदस्य संस्था, पर्यटन व्यवसायी, सामाजिक संघसंस्था तथा आम नागरिकलाई आ-आफ्नो तर्फबाट उद्धार तथा राहत अभियानमा स्वस्फूर्त रूपमा सहयोग गर्न हार्दिक अनुरोध गरेको छ।
साथै, हाल उच्च जोखिमयुक्त क्षेत्रमा यात्रा नगर्न वा नगराउन तथा आधिकारिक निकायबाट सम्प्रेषित सूचनालाई मात्र आधार मान्न सम्पूर्ण सरोकारवालालाई विशेष आग्रह गरेको छ।