विदेश पठाउने नाममा ठगीः शान्त कुमार तामाङ्गको लाखौँ रुपैयाँ फिर्ता होला त ?

दियो पोस्ट  

काठमाडौं, साउन १६ । वैदेशिक रोजगार कसुर मुद्दामा फरार प्रतिवादी नागार्जुन नगरपालिका(३ सितापाईला बस्ने ४३ वर्षीया पुनम नेपालीलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

वैदेशिक रोजगार कसुर मुद्दामा वैदेशिक रोजगार न्यायाधिकरणबाट २०६९ असार ३१ गते १ बर्ष ६ महिना कैद र १ लाख ५० हजार रुपैयाँ जरिवाना तथा पीडितलाई हर्जाना समेत गरी १५ लाख ७५ हजार दिलाई दिने फैसला भएकोमा फरार पुनमलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजबाट खटिएको प्रहरीले सितापाईलाबाट पक्राउ गरेको हो ।

प्रतिवादी पुनमले वैदेशिक रोजगारमा मानिस पठाउने ईजाजतपत्र बिना नै जाहेरवाला शान्त कुमार तामाङ्गलाई आकर्षक वैदेशिक रोजगारको लागि ६ महिनाभित्र वैदेशिक मुलुक साइप्रस पठाइदिने भन्दै २०६६ असार २१ मा १० लाख ५० हजार रुपैयाँ प्राप्त गरी रोजगारीमा नपठाई रकम ठगी गरेकी थिइन् ।

पुनमलाई फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा पेश गरिएकोमा कैद भुक्तानका लागि केन्द्रीय कारागार कार्यालय सुन्धारा काठमाडौं पठाइएको उक्त ब्यूरोले जनाएको छ ।