पुनस्थापना केन्द्रको नाममा ठगी धन्दा : गृहमन्त्री, सिडियो र एसपीको नाममा १० लाख लिने यी को हुन ?

दियो पोस्ट  

काठमाडौं, साउन १७ । लेनदेनको विवाद मिलाउन गृहमन्त्री, सिडियो र एसपीको नाममा १० लाख रकम असुलेर फरार भएका सन्देश फाउण्डेसन नामको पुनस्र्थापना केन्द्र चलाउने गौरवबाबु ढकाल पक्राउ परेका छन् । ढकाललाई काठमाडौंबाट विहिवार पक्राउ गरीएको चितवनका प्रहरी प्रमुख एसपी दानबहादुर मल्लले बताए । उनलाई ठगी आरोपमा अनुसन्धान थालिएको एसपी मल्लले वताए। 

  ढकालले मन्जुश्री सप्लायर्ससँग गृहमन्त्री, प्रजिअ र एसपीलाई भनेर लेनदेन विवाद मिलाउने भनेर १० लाख रुपैयाँ असुलेका थिए  । ढकालले गृहमन्त्री र एसपीको नाममा लिएको १० लाखको चेक साटेको पुष्टी भएपछि प्रहरीले खोजी तीव्र पारेको थियो  । तर, केस मिलाउन नसकेपछि उनी फरार भएका थिए ।

 प्रहरीका अनुसार ढकालले गृहमन्त्री रामबहादुर थापाको सचिवालयमा काम गर्ने दावी गर्दै असुली धन्दा गर्दै आएका थिए । उनले सिडिओ र एसपीको नाम बेचेर ठगी गरिरहेको सुचनाका आधारमा पक्राउ गरिएको एसपी मल्लले बताए ।

 ढकालले आफ्नै कार्यालयमा विभिन्न व्यक्तिहरुलाई भेला गराई चेक बाउन्स र लेनदेनको मुद्धा, अवैध ढुकुटी र मिटरव्याजको काम गर्दै आएको प्रहरीको दावी छ । 

 प्रहरीका अनुसार गृहमन्त्रीदेखी प्रहरीका उच्च  अधिकारीसँग बसेको तस्बिर देखाएर ठगी धन्दा गर्ने यस्ता दलालहरु धेरै रहेका छन्। दिपक खाँड नामका अर्का दलाललाई पनि प्रहरी खोजी गरिरहेको बुझिएको छ। उनले पनि लेनदेनदेखी धुकुटीको बिबाद मिलाउने नाममा रकम असुल्दै आएको सुचना प्रहरीमा पुगेको छ।