काठमाडौं, साउन १९ । अर्जेन्टिनाको राष्ट्रिय फुटबल टोलीका कप्तान लियोनल मेस्सीलाई ३ महिने प्रतिबन्ध लगाइएको छ।
मेस्सीलाई कोपा अमेरिकाको समयमा दक्षिण अमेरिकी फुटबल प्रशासक निकायको आलोचना गरेपछि शुक्रबार उनलाई अन्तर्राष्ट्रिय खेलमा प्रतिबन्ध लगाइएको हो। उनलाई प्रतिबन्धसँगै ५० हजार अमेरिकी डलर जरिवाना तोकिएको अधिकारीहरुले जनाएका छन्।
अर्जेन्टिनाका र चिलीबीच तेस्रो स्थानका लागि भएको प्रतिस्पर्धाका क्रममा रातो कार्ड देखाइएपछि उनले मैदान छोड्नु परेको थियो। चिलीका ग्यारी मेडलसँग मेस्सी भिडेपछि खेलको ३७औं मिनेटमा दुवै जनालाई रातो कार्ड देखाइएको थियो।
बार्सिलोनाबाट खेल्दै आएका ३२ वर्षीय मेस्सीले त्यतिबेला ‘प्रतियोगिताको कप ब्राजिलका लागि पहिले नै सुरक्षित गरिएको’ टिप्पणी गरेका थिए। दक्षिण अमेरिकी फुटबल संंघको निर्णयविरुद्ध अपिल गर्न मेस्सीसँग एक हप्ताको समय रहेको छ।
प्रतिबन्धका कारण आगामी सेप्टेम्बर र अक्टोबरमा चिली, मेक्सिको र जर्मनीसँग हुने मैत्रीपूर्ण खेलमा सहभागी हुनबाट उनी वञ्चित हुनेछन्। सन् २०२२ को विश्वकप फुटबल प्रतियोगिताको छनोट खेल भने सन् २०२० को मार्च महिनाबाट सुरू हुनेछ। यसका लागि भने उनलाई कुनै प्रभाव पर्नेछैन।
कोपा अमेरिका प्रतियोगिताको सेमिफाइनलमा ब्राजिलसँग २–० को अन्तरले पराजित भएपछि अर्जेन्टिनाको फुटबल संघले उक्त खेलमा ’रेफ्रीले गम्भीर त्रुटि गरेको’ गुनासो गरेको थियो।
दक्षिण अमेरिकी फुटबल संघले भने आफ्नो निष्ठामाथि लगाइएको आरोप ’निराधार’ रहेको टिप्पणी गरेको थियो। रासस/एएफपी