श्री लालीगुराँस सहकारीको ‘ठगीधन्दा’को प्रोमो बजाएर ऋषी धमलाको ब्ल्याक मेलिङधन्दा ! (भिडियो)

दियो पोस्ट  

काठमाडौं, ३० साउन । टेलिभिजन पत्रकार ऋषी धमला पटक पटक विवाद र चर्चामा आइरहन्छन् । विभिन्न टेलिभिजन र रेडियोमा कार्यरत धमला पछिल्लो समय प्राइम टेलिभिजनमा ‘जनता जान्न चाहान्छन्’ नामक कार्यक्रम चलाउँछन् । उक्त टेलिभिजन धमलाकै लगानीमा सञ्चालित छ । तर, धमलाको कार्यक्रममा शनिबार एक जना ‘सहकारी आन्दोलनकर्मी भन्दै विवादास्पद व्यक्तिको अन्तर्वार्ता प्रशारण भयो ।


ललितपुर स्थित पुल्चोकमा कार्यालय रहेको श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाका प्रमुख कार्यकारी निर्देशक सुरेन्द्र भण्डारीले उक्त कार्यक्रममा गायक रामकृष्ण ढकालदेखि केशव पुरीसम्मको बद्नामी गरे ।


सोही सहकारीबाट ठगिएका रामकृष्ण ढकालले औपचारिक रुपमा आफूमाथि परेको अन्याय कतै बोलेका छैनन् । प्रस्तोता धमलाले,‘ढकालले आफूमाथि अन्याय भएको विषयमा नेतृत्व गरेरै आन्दोलन गरिरहेको र आफूलाई ढकाल दम्पत्तिले नै आफूमाथि अन्याय भएको विषयमा सोधिदिन’ भनेको उल्लेख गरेका छन् ।


यस विषयमा ढकालको परिवारसँग बुझ्दा पारिवारिक स्रोतले आफूले अहिलेसम्म कुनै सञ्चार माध्यममा नगएको र ऋषी धमलासँग कुनै कुराकानी समेत नभएको बताए । यसरी ढकालले नभनेको विषयलाई समेत उचालेर धमलाले आफ्नो कार्यक्रममा विवादास्पद सहकारी सञ्चालक भण्डारीलाई उनको कार्यक्रममा ल्याउनुको रहस्य फेला परेको छ ।


प्रमुख कार्यकारी निर्देशक सुरेन्द्र भण्डारी धमलासँग कसरी दोस्ती र उनको टेलिभिजनमा छाए ? भन्ने प्रश्नको उत्तर खोज्न केही दिन अघि जानुपर्ने हुन्छ ।


केहि दिनअघि धमलाको लगानी रहेको प्राइम टेलिभिजनमा एउटा प्रोमो बजेको थियो । उक्त प्रोमो फेसबुकमा समेत भाइरल बनेको थियो ।

https://www.youtube.com/watch?v=0evZaBUnVAU


‘श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थामा बचत गर्दै हुनुहुन्छ ? होसियार ! तपाईंको अर्बौंको सम्पत्ति लुटिनसक्नु हुन्छ । शेयर सदस्य र बचतकर्तासँगै ऋणीलाई लुट्न यसरी गरिन्छ जालझेल…..’ यस्तो शब्द सहितको आवाजमा प्रोमो बजेको थियो ।


तर उक्त प्रोमोको फूल स्टोरी प्राइम टेलिभिजनले आजको दिनसम्म बजाएको छैन ।उल्टै फेसबुकमा शेयर गरिएको प्रोमो नै डिलिट गरिएको छ ।

अचम्म त के छ भने सोहि दिन साँझ बजाउने भनिएको प्रोमो रोकेर धमलाको अनलाइन रिपोर्टस नेपालमा उल्टै ऋणीको बद्नामी गर्न सहकारीको एकोहोरो स्टेटमेन्ट प्रकाशन गरियो ।


धमलाको मोबाइलमा सम्पर्क गरी ‘प्रोमो बजाएर कार्यक्रम किन बजाउनु भएन’ भन्दै दियोपोस्टले सोधेको प्रश्नमा उनले अनुसन्धान नपुगेर प्रोमो रोकेको बताए ।


प्रोमो नै डिलिट गरेर फाल्नु भएछ नी भन्ने प्रश्नमा भने उनले झूटो जवाफ दिए ।
‘त्यस्तो छैन । त्यो हेर्न सक्नुहुन्छ । एउटा समुह रहेछ नी ऋण नतिर्ने समुह त्यो समुहका कारण हो,’ भन्दै उनले फोन राखे ।


तर युटुभ र फेसबुकमा भने उक्त प्रोमो राखिएको लिंक डिलिट गरिएको छ ।


यसरी पीडितको कथा देखाउने र बार्गेनिङ गरेर प्रोमो नै डिलिट गर्ने धन्दा नै नेपाली टेलिभिजन पत्रकारितामा नभएको भने होइन ।


सञ्चार माध्यममा न्याय पाइन्छ की भनेर पीडितहरु धाउने गर्छन् । तर, धमला जस्ता सञ्चारकर्मी भने पीडितका कुरा देखाएर बार्गेनिङ गर्छन् भन्ने यो घटनाले पुष्टि गर्छ ।


‘हामीले दिएको प्रमाण र हाम्रो पीडा लगेर ऋषी धमलाले बार्गेनिङ गरे । मैले थाहा पाए अनुसार धमलाले लालीगुराँसबाट लाखौँ रकम लिएका छन्,’ एक पीडित भन्छन्,‘हाम्रो प्रोमो नै डिलिट गर्नु भनेको त चानचुने काम होइन नी । यो त अपराध नै हो नी ?’


यता पीडित केशव पुरीले पनि धमलाको टेलिभिजनमा आफ्नो बाइट लिएको र पछि उक्त बाइट नै नबजाएर बार्गेनिङ गरी प्रोमो नै हटाइएको बताए ।


त्यसो त श्री लालीगुराँस सहकारीका प्रमुख कार्यकारी निर्देशक सुरेन्द्र भण्डारीले सञ्चार माध्यममा डिल गर्न मुख्य दैनिक पत्रिकाका रिपोर्टरलाई नै नियुक्त गरेका छन् । ती सञ्चारकर्मीको काम नै श्री लालीगुराँस र सुरेन्द्र भण्डारीको कतुर्तको समाचार रोक्न दौडधुप गर्नु हो । ती व्यक्ति केही दिनअघि यो हो टेलिभिजनको स्टुडियोमै पुगेका थिए । दियोपोस्टमा प्रकाशित समाचारको विषयमा ‘छलफल गर्नुपर्यो’ भन्दै पटक पटक फोन गर्ने व्यक्ति नी तिनै हुन् ।


काउन्सिलका अध्यक्ष भन्छन्,‘भिडियो पठाउनुस् कारबाही हुन्छ’


प्रेस काउन्सिल नेपालका कार्यबाहक अध्यक्ष किशोर श्रेष्ठले प्रोमो बजाएर कार्यक्रम रोक्ने माथि कारबाही हुने बताए ।

 

‘त्यसरी बजाउने र कार्यक्रम रोक्न पाइँदैन । त्यो भिडियो पठाउनुस् त्यसलाई कारबाही हुन्छ,’ श्रेष्ठले दियोपोस्टसँग भने ।