प्रधानमन्त्रीले शुभकामना माग्दा माधव कुमार नेपालले किन गाली दिए ?

दियो पोस्ट  

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा वरिष्ठ नेता माधव कुमार नेपालबिच भनाभन भएको छ । सिंगापुर जानुअघि बसेको सचिवालय वैठकमै माधव कुमार नेपाल जंगिएका हुन् । विहीबारको सचिवालय वैठक कुनैपनि एजेण्डामा छलफल गर्नको लागि नभई प्रधानमन्त्रीको स्वास्थ्यलाभको कामनाका लागि बोलाइएको थियो ।

वैठकमा प्रधानमन्त्री ओलीले कार्यवाहक अध्यक्ष प्रचण्डलाई सुम्पिँदै वैठक बोलाउनसम्म सक्ने अधिकार दिएका छन् । उनले पार्टी र सरकारको अन्य गतिविधिहरुमा फोनमार्फत पनि छलफल गर्न सकिने भएकोले अब मिलेर पार्टी चलाउनुपर्ने बताउनासाथ नेता नेपाल जंगिएका हुन् । उनले पार्टीभित्र अबदेखि सर्वसम्मिती नहुने भन्दै प्रतिवाद गरेका छन् । आफुले असहमती राख्दाराख्दै पनि पार्टीभित्र धेरै निर्णय भएको भन्दै नेता नेपालले आक्रोश व्यक्त गरेका छन् । नेता नेपालले सात बुँदे असहमतीसहितको नोट अफ डिसेन्ट दर्ता गरेका छन् ।

नेता नेपाललाई प्रचण्डले सम्झाए

आक्रोशित अवस्थामा विवाद गरिरहेका नेता नेपाललाई कार्यवाहक अध्यक्ष प्रचण्डले शान्त बनाएका छन् । उनले प्रधानमन्त्री स्वास्थ्य उपचार गर्न सिंगापुर जान लागेको यस्तो समयमा आक्रोशित नहुनका लागि नेता नेपाललाई आग्रह गरेका थिए । तीब्र आरोप प्रत्यारोपमा उत्रिएपछि अध्यक्ष प्रचण्डले कुनै एजेण्डाको लागि छलफल नभएको भन्दै बाहिरी कुरा नगर्न आग्रह गरे । उनले प्रधानमन्त्रीको स्वास्थ्य लाभको कामना समेत गरेका छन् ।

प्रधानमन्त्री पनि रुष्टिए


चर्को आरोप प्रत्यारोप भएपछि प्रधानमन्त्री केपी शर्मा ओली नेता नेपालसंग रुष्ट बनेका छन् । स्वास्थ्य लाभको कामनाको लागि भएको वैठकमा विभिन्न विषय ल्याएर आक्रोश पोखेको भन्दै प्रधानमन्त्री ओली रुष्टिएका हुन् । नेता नेपालले प्रधानमन्त्री ओलीलाई अशिष्ठ शब्द समेत प्रयोग गरेको सचिवालय सदस्यले बताएका छन् ।
अशिष्ठ शब्द प्रयोग गरेपछि प्रधानमन्त्री ‘चाहिएन तपाइँको शुभकामना’ भन्दै बाहिरिएका हुन् ।