२५ जना डाक्टरको सामुहिक राजिनामापछि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तनाव

Diyo post  

दाङ, भदौ ६ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका २५ जना डाक्टरहरुले सामुहिक राजिनामा दिएका छन् । आफुहरुलाई मानसिक तनाव दिएको भन्दै काम गर्न नसक्ने कारण उल्लेख गर्दै डाक्टरहरुले राजिनामा दिएका हुन् ।

राजिनामा पत्रमा प्रतिष्ठानका पदाधिकारीहरुले डाक्टरमाथि चरम ज्यादती गरेको आरोप लगाइएको छ । प्रतिष्ठानकी उपकुलपती संगिता भण्डारीले डाक्टरहरुलाई बारम्बार स्पष्टीकरण सोध्ने, जागिर खाइदिन्छु भनेर थर्काउने र अत्याधिक मानसिक तनाव दिने गरेको उल्लेख गरिएको छ ।

राजीनामा दिनेहरुमा फिजिसिएन डाक्टर जीतनारायण यादव, डाक्टर दिनेश उप्रेती, अर्थोपेडिक डाक्टर ओम अर्याल, डाक्टर अनिलप्रसाद यादव, डाक्टर सागर पन्थी, रेडियोग्राफी डाक्टर रामेश्वर देवकोटा, डाक्टर विक्रम बुढाथोकी, एनेस्थेसियालोजिष्ट डाक्टर सुरेन्द्र कवर, डाक्टर राजन शाक्य, पेडियाट्रिकस डाक्टर कृष्णहरि सुवेदी, गाईनेकोलोजिष्ट डाक्टर वसन्त लामिछाने, सर्जन डाक्टर ईश्वरी भुसाल, याम डिजिपी डाक्टर अमित लाम्गाडे, डर्माटोलिजिष्ट डाक्टर जेम महर्जन, अभ्यास पोखरेल, डाक्टर कृष्ण रिजाल, डाक्टर गौरव आचार्य, डाक्टर अनिल खाम, डाक्टर धना केसी, डाक्टर प्रितम डिसी, डाक्टर राजेन्द्र फुलारा, डाक्टर आयुष पौडेल उपाध्याय, डाक्टर सुर्वण बुढा, डाक्टर मनोज यादव र कमिनिटी मेडिसियन डाक्टर वर्षा मानन्धर रेहेका छन् ।

उनिहरुले उपकुलपति डा. भण्डारीसंगै कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यालय,सहकुलपतिको कार्यालय,नेपाल मेडिकल एशोसिएशन,नेपाल मेडिकल काउन्सिल,र जिल्ला प्रशासन कार्यालयमा पनि आँफूहरुको राजीनामा बोधार्थ पठाएका छन्।

प्रतिष्ठानले विनाकारण बर्खास्ती गर्न खोजेको भन्दै २५ जना डाक्टरहरुले सामुहिक राजीनामा दिएपछि अस्पतालको सेवा पुर्ण रुपमा रोकिएको छ । प्रशासनले भने डाक्टरहरु फर्किने बताएका छन् । यसैबीच प्रष्ठिानमा उत्पन्न परिस्थितिको बारेमा सर्वपक्षिय छलफलको आयोजना गरिएको छ । जिल्लाका सरोकारवाला निकायहरुले प्रतिष्ठान सुधारका लागि सर्वपक्षिय छलफलको तयारी समेत भएका छन् ।

सम्बन्धित खबर