अन्तरिक्ष केन्द्रमा रुसको पहिलो मानवाकृत रोबोट

दियो पोस्ट  

मस्को । रुसले पहिलो मानवाकृत रोबोट अन्तराष्ट्रिय अन्तरिक्ष केन्द्र (आइएसएस) मा मंगलबार स्थापना गरेको छ । फाइनल एक्सपेरिमेन्टल डिमन्सट्रेशन अब्जेक्ट रिसर्च (फेदोर) ले मानिसझैँ यताउती हिँड्ने र वरपरबाट सामान ल्याउने राख्ने काम गर्छ । यसले अन्तरिक्ष केन्द्रमा रहेका बैज्ञानिकलाई काममा सघाउनेछ । नासाका टिप्पणीकर्ताले भने, ‘सम्पर्क स्थापित भएको छ, रोबोट अन्तरिक्ष केन्द्रमा जोडिएको छ ।’

रुसी अन्तरिक्ष केन्द्र रोसकोसमोसले पनि उक्त रोबोट अन्तरिक्षमा पुर्याइएको जनाएको छ । अन्तरिक्ष केन्द्रमा अब सातजना पुगेका छन् । यसअघि नै ६ जना वैज्ञानिक अन्तरिक्ष केन्द्रमा छन् । यान गत बिहीबार कजाकस्तानबाट प्रक्षेपण गरिएको थियो ।

उक्त रोबोट सेप्टेम्बर ७ सम्म अन्तरिक्ष केन्द्रमा राखिनेछ । सोयुज यानबाट खासगरि मानिसलाई मात्र अन्तरिक्षमा पर्यान्छ तर योपटक रोबोट पठाइएको छ । यानमा औषधी, खान र सरसफाईका सामान गरि ६ सय ७० किलोग्रामा सामान पठाइएको छ ।

अन्तरिक्षमा पठाइएको फेदोर पहिलो राबोट भने होइन । सन २०११ मा नासाले जेनेरल मोटर्सको सहयोगमा बनाइएको रोबोनट २ नामको रोबोट पठाएको थियो । यो रोबोट पनि उच्च जोखिमयुक्त ठाउँमा काम गर्न प्रयोग गरिएको थियो । प्राविधिक समस्या देखिएपछि ती रोबोट सन २०१८ मा पृथ्वीमै फर्काइएको थियो ।

सन् २०१३ मा जापानले पनि आफ्ना अन्तरिक्षयात्रीसँगै किराबो नामको सानो रोबोट पठाएको थियो । सन् १९९८ देखि पृथ्वीको कक्षमा राखिएको अन्तराष्ट्रिय अन्तरिक्ष केन्द्रले प्रतिघण्टा २८ हजार किलोमिटरको गतिमा पृथ्वीको वरिपरि घुम्ने गर्दछ । रासस