वालिङ्ग, ११ भदौ । बिद्यार्थीहरु नीजि स्कुलमा जान थालेपछि स्याङ्जाको एक बिद्यालय दुई वर्षयता बन्द छ । जिल्लाको गल्याङ्ग नगरपालिकास्थित जगत्रदेबी, ८ बल्पुकको श्री मिलन प्राथमिक बिद्यालय बिद्यार्थी अभावमा बन्द भएको हो ।
२०५१ सालमा स्थापना भएको यो बिद्यालय यतिबेला जीर्ण अवस्थामा पुगेको छ । बिद्यालय वरिपरि घाँस उम्रिएको छ । भवनका झ्याल ढोका मक्किइसकेका छन् । भित्ता चर्किएका छन् । बिद्यालयमा कार्यरत शिक्षकहरु नजिकैको सरकारी बिद्यालयमा सरुवा भएका छन । त्यहाँ अध्ययनरत बिद्यार्थीहरु बोर्डिङ्ग स्कुलमा भर्ना भएका छन् । तर, यस तर्फ सरोकारवाला निकाय तथा ब्यक्तिहरु चसो दिदैँनन् ।
घर नजिकैको स्कुल बन्द भएपछि टाढाको स्कुल धाउनु परेको भन्दै स्कुल संचालनमा आउनु पर्ने बताउँछन् स्थानीय भुपराज बस्याल । उनले वडा अध्यक्ष तथा नगर प्रमुखलाई समेत यो बिषयमा जानकारी गराइसकेको भएता पनि बिद्यालय खुलाउने बिषयमा कसैले चासो नदेखाएको बताए ।
यद्यपी, बिद्यार्थीहरु गाउँमा खुलेका नीजि बिद्यालयमा आकर्षित भएका कारण बिद्यालयमा बिद्यार्थीको संख्या कम भई बिद्यालय बन्द गर्नुपर्ने स्थितिमा पुगेको गल्याङ नगरपालिकाका नगर प्रमुख भुप राज अधिकारीले बताएका छन् । “बिद्यार्थी नै नभए पछि कसलाई पढाउनु?” उनले भने । आफु नगर प्रमुख भएर त्यहाँ आउनु भन्दा पहिले नै स्कुल बन्द भएको उनले बताए ।
प्रजनन दर कम भएका कारण बिद्यालय बन्द भएको नगर प्रमुख अधिकारीको तर्क छ । उनी भन्छन्, “पहिले जस्तो ५÷७ वटा बच्चा पाउन छाडे, मान्छेहरुमा जाँगर कम भयो, खाना पिना राम्रो छैन, कोही बसाइँ सरे होलान, त्यसैले बिद्यालय बन्द भएको हुन सक्छ ।” उनले बिद्यालयको भवनलाई सरकारी अस्पताल बनाउने बनाउने या अन्य कुनै प्रयोजनमा ल्याउने बिषयमा छलफल भइरहेको बताए ।
आफ्ना बाल–बालिकालाई महंगो बिद्यालयमा पैसा तिरेर पढाउन नसक्ने अभिभावकहरु स्कुल बन्द भए पछि समस्यामा परेका छन् । सो विद्यालय वरपर तीन सय भन्दा बढी परिवार बसोबास गर्ने नगरप्रमुख अधिकारीले बताए ।