काठमाठौं । चितवन प्रहरी प्रमुख एसपी दान बहादुर मल्लको नाममा नक्कली फेसबुक अकाउन्ट खोलेर अस्लिल फोटो पोष्ट गर्ने ब्यक्तिको खोजी कार्य तीब्र पारिएको छ । एसपी मल्लको नाममा खोलिएको नक्कली अकाउन्टमा अश्लिल फोटो र स्टाटस राखिएकाले त्यस्तो अपराध गर्नेमाथि कारबाही हुने जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
आफ्नो बद्नामी गर्ने हेतुले यस्तो खालको हर्कत भएको भन्दै यसतर्फ गम्भिर ध्यानाकर्षण भएको एसपी मल्लले बताएका छन् । “मेरो नाममा नक्कली फेसबुक अकाउन्ट खोलेर मेरो चरित्र हत्या गर्ने काम भएकाले त्यस्ता कार्यमा संलग्नको खोजि कार्य तिर्व भइरहेको छ, केहि दिन देखि उक्त आइडी चलाएको देखिन्न”, एसपी मल्लले बताए ।
एसपी मल्लका अनुसार चरित्र हत्या गर्ने उक्त कार्यमा संलग्नको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले समेत खोजी कार्य तिर्व पारेको छ । पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणलाई लिएर एसपी मल्लमाथी सामाजिक संजालहरुमा विभिन्न आरोप प्रत्यारोप लगाउदै भ्रम सिर्जना गरिदै आएको छ ।
पत्रकार पुडासैनी आत्महत्या प्रकरणमा मुछिएका संचारकर्मी रवि लामिछाने, युवराज कँडेल र नर्स अस्मिता कार्कीलाई चितवन प्रहरीले पक्राउ गरी मुद्धा चलाएपछि चितवन प्रहरी र एसपी मल्ल बिरुद्ध विभिन्न आरोप र भ्रमहरु फैलाएको देखिन्छ ।
पत्रकार पुडासैनी आत्महत्या प्रकरणका आरोपितहरु ११ दिन थुनामा बसि सोमबार मात्रै धरौटीमा रिहा भएका छन् । रवि लामिछाने पक्राउको बिरोध गर्दै एसपी मल्लविरुद्ध नाराबाजी लगाउँदै राजीनामाको माग समेत गरिएको थियो । रवि लामिछाने पक्राउ परेको भोलिपल्ट अर्थात साउन ३१ मा एसपी मल्लको नाममा नक्कली फेसबुक अकाउन्ट खोलिएको देखिन्छ ।
उक्त अकाउन्टमा एसपी मल्लको चरित्र हत्या हुनेगरी विभिन्न अस्लिल फोटो र स्टाटसहरु पोष्ट गरिएका छन् । प्रचलित कानुन अनुसार यसरि सामाजिक संजालमार्फत कसैको चरित्र हत्या गर्ने कार्यमा संलग्नलाई कारवाहीको ब्यवस्था छ ।
कानुन अनुसार यस्तो कार्यमा संलग्नलाई रु १ लाखसम्म जरिवाना वा पाँच वर्ष कैद वा दुवै सजाय हुन्छ ।