काठमाडौँ, भदौ १३ । प्रमुख प्रतिपक्षी दल नेपाली कााग्रेसका नेता तथा काठमाडौँ क्षेत्र नम्बर ४ का सांसद गगनकुमार थापा पुल्चोक स्थित सडक विभागमा धर्ना दिन पुगेका छन् । ४ नम्बर क्षेत्रका विभिन्न १२ वटा सडक अलपत्र पारेको भन्दै थापाको नेतृत्वको टोली विभागमा धर्ना दिन पुगको हुन् ।
सांसद थापाले सडकबाट उठाइएको आवाज सरकारले नसुुनेको कारण धर्ना दिन वाध्य भएको बताएका छन् । धर्ना आधा घण्टासम्म चल्ने बताइएको छ । विभागले काठमाडौँको क्षेत्र नम्बर ४ अन्तर्गत चाबाहिल, कपन लगायतका १२ भन्दा बढी सडकहरु अलपत्र पारेको उनले बताएका छन् ।
सरकारले सडक अलपत्र बनाउने ठेकेदार कम्पनीलाई अझै २ बर्षको म्याद दिएर सडक निर्माणलाइ झन अनिश्चित बनाइएको बताएका छन् । समयमै सडक बनाउन नसक्ने ठेकेदार कम्पनीलाई खानेपानी आयोजनाको निर्माण समेत सोही कम्पनीलाई दिएको भन्दै थापाले विरोध गरेका हुन् ।
सरकारलाई यस विषयमा ध्यानाकर्षण गराउन र लापरवाही गर्ने ठेकेदारलाई कारवाही गर्नको लागि आफुले पत्र लेखेको भएतापनि त्यसको कुनै सुनुवाई नभएको उनले बताएका छन् । सदनमा मन्त्रीहरुलाई सोध्दा समेत कुनै जवाफ नदिएको उनले जानकारी दिए ।
अबको एक हप्ताभित्र सो क्षेत्रमा सडक र खानेपानीको निर्माण कार्य अघि नबढे सिंहदरबारभित्रै धर्ना बस्ने उनले चेतावनी दिए । उनले भने, ‘जनतालाई सास्ती दिएर मन्त्रीलाई मस्तीसँग बस्ने छुट छैन । सडक निर्माणका लागि संघर्षको कार्यक्रम आजबाट सुरु भएको छ ।’