
काठमाडौं, ३२ साउन । काठमाडौं जिल्ला बचत तथा सहकारी संघमा गैरकानुनी रुपमा एक व्यक्तिले रजाइँ गरेको पाइएको छ ।
संघिय ऐन र प्रदेश सहकारी ऐनको समेत धज्जी उडाएर नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)का कोषाध्यक्ष दीपक पनेरुले गैरकानुनी रुपमा पद ओगटेर बसेको पाइएको हो ।
प्रदेश ३ को सहकारी ऐनको दफा ७ मा ‘कुनै तल्लो तहको सहकारी संघको सञ्चालक माथिल्लो तहको संघमा निर्वाचित भएमा तल्लो तहको सहकारी संघको सञ्चालक तत्काल छा्ड्नुपर्छ’ भन्ने उल्लेख छ ।

तर पनेरु भने दुवै पद ओगटेर बसिरहेका छन् ।
नेफ्स्कूनको संचालक रहदै कास्कूनको अध्यक्षमा निर्वाचित भएका उनी पुनः नेफ्स्कूनको कोषाध्यक्षमा समेत निर्वाचित भए । पनेरुले दोहोरो पद लिइरहेको थाहा हुँदा समेत प्रदेश सहकारी रजिष्टरले कुनै कारबाही गर्न सकेका छैनन् ।
गैरकानुनी रुपमा पदमा रहेका पनेरुकै हातबाट प्रदेश रजिष्टर विक्रम पाण्डेले सम्मान ग्रहण समेत गरेको पाइएको छ ।
ऐन विपरित दोहोरो पदमा बस्ने व्यक्तिलाई कारबाही गर्ने जिम्मा पाएको प्रदेश सहकारी रजिष्टरले नै अनैतिक रुपमा सम्मान ग्रहण गरेपछि पनेरुमाथि कारबाही नहुने हो की भन्ने आशंका बढेको छ ।
गत श्रावण १७ गते पाण्डेलाई राष्ट्रिय सहकारी महासंघका संचालक तथा सहकारी बैंकका अध्यक्ष केबी उप्रेतीले सम्मानपत्र प्रदान गरेका थिए । अध्यक्ष पनेरु र सचिव शालिकराम पुडासैनीको हस्ताक्षर रहेको सम्मानपत्र दिइएको थियो ।
ऐन कार्यान्वयन भएपछि छाड्छु : पनेरु
गैरकानुनी रुपमा अध्यक्ष पदमा रहेका दीपक पनेरुलाई सम्पर्क गर्दा ऐन कार्यान्वयन भएपछि आफूले पद छोड्ने बताए ।
तपाईं दुवै पदमा बस्नु भएको रहेछ एउटा पद छोड्नु पर्ने कानुनी व्यवस्था हुँदा किन नछोड्नु भएको भन्ने दियोपोष्टको प्रश्नमा उनले भने,‘य.. त्यस्तो हो र अहिले । ऐन कार्यान्वयन भएपछि छोडौंला । म जस्ता ८०÷८२ जना हुनुहुन्छ । सबैले छा्ड्ने तयारी गर्दै हुनुहुन्छ होला ।’
‘ऐन जारी भएपछि कार्यान्वयन भइसक्यो उहाँहरु आफैले बुझेर छाड्नुपर्ने हो’ : पाण्
डे
प्रदेश सहकारी विभागका रजिष्टर विक्रम पाण्डेलाई यस विषयमा प्रतिक्रिया लिन सम्पर्क गर्दा उनले ऐन जारी भएदेखि नै लागु भएको बताए । दोहोरो जिम्मेवारीमा रहेका व्यक्तिहरुले आफै बुझेर पदबाट हट्नुपर्ने उनको भनाई छ ।
‘ऐन जारी भएपछि लागु हुने नै भयो । जारी भएपछि लागु भयो भनेर बुझ्नुपर्छ । उहाँहरुले आफै बुझेर छाड्नुपर्ने हो । हामी ऐनका प्रावधानहरुलाई सुची नै बनाएर सुचना प्रकाशन गर्ने सोचमा छौँ,’ पाण्डेले दियोपोस्टसँग भने,‘दोहोरो जिम्मेवारी नछोडे ऐनको प्रावधान अनुसार कारबाहीमा जाने हो ।’
सहकारी ऐनको उलंघन गर्नेमाथि ५ लाख रुपैयाँसम्म जरिवाना हुने पाण्डे बताउँछन् ।