दियोपोस्ट संवाददाता,
धादिङ, ३२ साउन । धादिङको सिद्धलेक गाउँपालिका स्थित कुम्पुर स्वास्थ्य चौकीका अहेव रकिम अन्सारीमाथी हात्पात भएको छ ।
आइतवार साझ ५ बजे एक्कासि कार्यालय परिसरमा आएर आफुमाथी सोही स्थानका श्याम घले, दुर्गा बहादुर नेपाली लगायतका ब्यक्तीले हातपात गरेको अहेव अन्सारीले बताए । अन्सारीका अनुसार उनीहरुले ज्यान मार्ने नियतले हमला गरेका थिए ।
एक्कासी कार्यालय परिसर भित्र प्रवेश गर्दै उनीहरुले हाम्रो गाउँपालिका अध्यक्षले र वडा अध्यक्षले भनेको किन मन्दैनस, खुरुक्क यस स्वास्थ्य चौकी छोडेर जान्छस् कि जादैनस् भन्दै कुटपिट गर’, अन्सारीले भने। यद्यपि अन्सारीले भागेर ज्यान बचाएको बताएका छन् ।
उनीहरुले एक्कासि गाउँपालिका अध्यक्ष प्रेमनाथ सिलवाल र वडा अध्यक्ष टिका थपलियाको हवला दिदै कुटपिट गर्नुले गाउँपालिका अध्यक्ष र वडा अध्यक्षकै निर्देशन हुन सक्ने अन्सारीको आशंका छ ।
अन्सारीले सिद्धलेक गाउँपालिकाले खरिद गरेको औषधीमा अनियमितता भएको भन्दै विरोध गरेका थिए । विरोध गरेपछि उनको सरुवा समेत गरिएको थियो । तर, स्वास्स्थ्य मन्त्रालयले गाउँपालिकामै खटाउन निर्देशन दिएपनि हालसम्म उनलाई गाउँपालिका अध्यक्षले समायोजन गर्न सकेका छैनन् ।