आज हरितालिका तीज : निषेधाज्ञाबीच घरमै बसेर तीज मनाउन राष्ट्रपति भण्डारीको आग्रह

दियो पोस्ट  

काठमाडौं, ५ भदौ । भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका तीज पर्व आज महादेवको पूजा आराधना गरी मनाइँदैछ । आजको दिन व्रत बसी शिव–पार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति र परिवारको कल्याण हुने धार्मिक विश्‍वास छ ।

तीजका दिन काठमाडौंको पशुपतिनाथसहित देशभरका शिवालयहरुमा दर्शनार्थीहरुको घुइँचो लाग्‍ने गरेकोमा यो वर्ष कोरोना भाइरसको महामारीले गर्दा शिवालयहरु बन्द भएपछि महिलाहरुले घरमै बसेर पूजाआजा गरिरहेका छन् ।

महामारीको जोखिम बढ्न सक्ने भन्दै सरकारले धार्मिक स्थल बन्द गरेका कारण सबै मन्दिरहरु सुनसान रहेका छन् । स्वास्थ्यकर्मी र डाक्टरले पनि मन्दिर नजान सुझाव दिएका छन् । सरकारको निर्देशनअनुसार महिलाले घरमै तीज मनाइरहेका छन् ।

तीजको अवसरमा महिलाहरुले वर्षदिनभर आफूलाई परेका दुःख, पीर, मर्कालाई गीतका माध्यमबाट सार्वजनिक पनि गर्दछन् ।

यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोना भाइरसको महामारीबाट जोगिन सरकारले लागू गरेका स्वास्थ्यसम्बन्धी नियमको पालना गर्दै तीज पर्व मनाउन आग्रह गरेकी छन् । तीज पर्वको अवसरमा शुभकामना सन्देश दिदै राष्ट्रपति भण्डारीले मौलिक संस्कृति र परम्परालाई संरक्षण तथा प्रवर्द्धन गर्ने गरी चाड मनाउन आग्रह गर्दै यो वर्ष भेटघाट र जमघट गर्न सकिने अवस्था नभएकोले घरमै मनाउन आग्रह गरिन् ।

यस्तै उपराष्ट्रपति नन्दबहादुर पुन र सभामुख अग्‍निप्रसाद सापकोटाले पनि कोरोना भाइरसका कारण उत्पन्न प्रतिकूल अवस्थामा स्वास्थ्य मापदण्डका नियम पालना गर्दै सतर्कताका साथ यसपालीको तीज घरैमा बसेर मनाउन आग्रह गरेका छन् ।

बिहीबार दर खाएपछि औपचारिक रुपमा शुरु हुने तीज पर्व ऋषि पञ्चमीसम्म मनाइन्छ । तृतीयाका दिन हरितालिका व्रत, चौथीका दिन गणेश भगवानको पूजा र पञ्चमीका दिन स्‍नान गरी अरुन्धती सहित सप्तऋषिको पूजा गरी तीज समापन हुन्छ ।

TATA ADD