धादिङ, ५ भदौ । जिल्ला प्रशासन कार्यालय धादिङले कोरोना भाइरस कोभिड १९ को महामारी रोक्न भन्दै निषेधाज्ञा जारी गरेको छ । तर, निषेधाज्ञाकै बीच जुवातास खेल्ने देखि मदिरा खाएर होहल्ला गर्नेसम्मका घटना भइरहेको पाइएको छ ।
धादिङको गल्छि गाउँपालिका ४ अदुवाबारी रेग्मी टोलमा अवैध मदिरा सहित जुवातास खेलिरहेको देखेपछि प्रहरीले मदिरा नष्ट गरेको छ ।
‘यहाँ दिन भर मानिसहरु भेला भई मदिरा खाने र होहल्ला गर्ने गरिन्छ । हामीले खबर गरेपछि प्रहरी आएर मदिरा नष्ट गरेको छ,’ एक स्थानियले दियोपोस्टसँग गुनासो गरे,‘जन प्रतिनिधिले समेत यस्ता घटना हुँदा पनि कुनै मतलब गर्दैनन् । हामी मात्रै होइन छिमेकी गाउँका मान्छेलाई समेत निकै डिस्टर्ब भएको छ ।’