काठमाडौं, ९ भदौ । नेपाल आयल निगमको आधिकारिक ट्रेड यूनियन नेपाल आयल निगम कर्मचारी संघले कोरोना महामारीबीच फ्रन्टलाइनमा खटिएका कर्मचारीहरुको कोरोना वीमा गर्न माग गरेको छ ।
मंगलबार संघले विज्ञप्ती जारी गर्दै संक्रमणको उच्च जोखिमा खटिएका कर्मचारीहरुलाई वीमा, जोखिम भत्ता, स्वास्थ्य सुरक्षाको सामग्री, नियमित स्वास्थ्य चेकजाँचको व्यवस्था र संक्रमित कर्मचारी तथा निजका परिवारलाई सुविधा सम्पन्न आइसोलशन कक्ष समेत माग गरेको छ ।
संघका अध्यक्ष गोपालचन्द्र राईद्वारा हस्ताक्षेरित विज्ञप्तीमा अति प्रज्वलनशील पदार्थको आपूर्ति तथा वितरणमा चूनौतिपूर्ण समयमा काम गरिरहेका कर्मचारीलाई धन्यवाद समेत दिइएको छ ।
विज्ञप्तीमा जनाइए अनुसार कोभिड १९ बाट निगमको ५ नम्बर प्रादेशिक कार्यालय भलबारी, पेट्रोल पम्प भैरहवा, हवाई इन्धन डिपो भैरहवा, २ नम्बर प्रादेशिक कार्यालय अमलेखगन्ज र शाखा कार्यालय विरगन्जका कर्मचारी र उनीहरुको परिवारमा संक्रमित बनेका छन् ।