काठमाडौं, १० भदौ । काठमाडौं जिल्ला बचत तथा सहकारी संघ गैरकानुनी रुपमा दोहोरो पदमा बसेका अध्यक्ष दीपक पनेरुको बचाउ गर्दै विज्ञप्ति निकालेको छ ।
संघिय ऐन र प्रदेश सहकारी ऐनको समेत धज्जी उडाएर नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)का कोषाध्यक्ष समेत रहेका पनेरु जिल्लाका अध्यक्ष समेत हुन् ।
प्रदेश ३ को सहकारी ऐनको दफा ७ मा ‘कुनै तल्लो तहको सहकारी संघको सञ्चालक माथिल्लो तहको संघमा निर्वाचित भएमा तल्लो तहको सहकारी संघको सञ्चालक तत्काल छा्ड्नुपर्छ’ भन्ने उल्लेख छ । सोही विषयमा दियोपोस्ट लगायत सञ्चार माध्यमले खबर प्रकाशित गरेको थियो । उक्त समाचार बाहिर आएपछि कास्कुनका सचिव सालिकराम पुडासैनीले विज्ञप्ति निकालेर अध्यक्ष पनेरुको बचाउ गरेका हुन् ।
‘कास्कुन काठमाडौं भित्रका आम साकोसहरुको आस्था, विश्वास र भरोसाबाट जिवन्त रहने संघ हो । संघको कारबाहीहरुको बारेमा भ्रम सिर्जना हुने गरी समाचारहरुको प्रवाह तथा टिकाटिप्पणी गर्दा संघको मर्यादा र गरीमामा समेत आँच आउनसक्ने तर्फ ध्यान जान जरुरी छ,’ विज्ञप्तिमा भनिएको छ ।
विज्ञप्तिमा तथ्य र प्रमाणसहित प्रकाशित समाचारबाट भ्रममा नपर्न समेत भनिएको छ ।
पुडासैनी भन्छन्,‘कानुन भन्दा माथि छैनौँ’
विज्ञप्तिमा हस्ताक्षेर गर्ने कास्कुनका सचिव सालिकराम पुडासैनीले आफूहरुले विज्ञप्तिमा हस्ताक्षर गरेको स्विकार गरे ।
प्रदेश सरकारले बनाएको सहकारी ऐनलाई तपाईंहरुले विज्ञप्ति निकालेर कानुन मान्दिन भन्नु खोज्नु भएको भन्ने दियोपोस्टको प्रश्नमा उनले,‘आफूहरु मानुन मान्न तयार रहेको बताए ।’
नेफ्स्कूनको संचालक रहदै कास्कूनको अध्यक्षमा निर्वाचित भएका पनेरु पुनः नेफ्स्कूनको कोषाध्यक्षमा समेत निर्वाचित भए । पनेरुले दोहोरो पद लिइरहेको थाहा हुँदा समेत प्रदेश सहकारी रजिष्टरले कुनै कारबाही गर्न सकेका छैनन् ।
गैरकानुनी रुपमा पदमा रहेका पनेरुकै हातबाट प्रदेश रजिष्टर विक्रम पाण्डेले सम्मान ग्रहण समेत गरेका थिए ।