विराटनगर, १२ भदौ । कोरोना संक्रमणको दर बढ्दै गएपछि विराटनगर महानगरपालिकाको समन्वयमा स्थानीय उद्योगी तथा व्यवसायीको चन्दा सहयोगमा खरिद गरिएको पीसीआर मेसिनमा अनियमितता भएको पाइएको छ । २० लाख रुपैयाँ मूल्य पर्ने मेसिनलाई आपूर्तिकर्ता शिरिष मुरारकाले आठ लाख बढाएर २८ लाखको खरिद मूल्य देखाएको पाइएको हो ।
उद्योगी मुरारकामार्फत खरिद गरिएको उक्त पीसीआर मेसिनको बिल मूल्य भ्याटसहित ३१ लाख ६४ हजार रुपैयाँ उल्लेख गरिएको छ । विराटनगर महनगरपालिकालाई बुझाइएको उक्त बिल जेएचएस एनालाइटिक ट्रेडर्स भाटभटेनी काठमाडौंको नामबाट जारी भएको छ । जेएचएस एनालाइटिक ट्रेडर्सले महानगरपालिकामा बुझाएको बिलमा मेसिनको मूल्य २८ लाख रुपैयाँ उल्लेख गरिएको छ । मेसिन निर्माता कम्पनी क्वायजेनले उक्त मेसिनको बिक्री मूल्य भारु १७ लाख १७ हजार आठ सय ३० रुपैयाँ र छुट मूल्य भारु १२ लाख ५० हजार उल्लेख गरेको छ ।
यसरी छुट मूल्यअनुसार मेसिनको मूल्य नेपाली २० लाख रुपैयाँ मात्र पर्ने व्यवसायीहरूको भनाइ छ । कोरोना संक्रमणको दर बढेपछि महानगरले परीक्षणको दायरा बढाउन प्रदेश सरकारलाई पटक–पटक आग्रह गर्दा पनि बेवास्ता गरेपछि महानगरपालिकाका मेयर भीम पराजुलीको पहलमा उक्त पीसीआर मेसिन खरिदका लागि रकम संकलन गरिएको थियो । महानगरले मेसिन खरिद प्रक्रियाको जिम्मेवारी स्थानीय उद्योगपति प्रदीप मुरारकाका छोरा शिशिर मुरारकालाई दिएको थियो ।
संक्रमित व्यक्तिहरूको संख्या दैनिक बढेपछि संकलित स्वाबको रिपोर्ट आउन न्यूनतम ५ दिन पर्खिनुपर्ने अवस्था सिर्जना भएपछि मेयर पराजुलीको अग्रसरतामा नै मसिन खरिद गर्ने निर्णय भएको हो । मेयर भीम पराजुलीले पीसीआर मेसिन खरिदका लागि विराटनगरका उद्योगी व्यवसायीसँग समेत छलफल गरी खरिद गर्नको लागि मुरारकालाई जिम्मा दिएका थिए । विराटनगरका सर्वसाधारण, समाजसेवी, उद्योगी तथा व्यवसायीहरूले चन्दा सहयोग समेत जुटाएर खरिद गरिएको मेसिनमा व्यवसायी शिरिष मुरारकाले आठ लाख मूल्य बढाएर अनियमितता गरेका छन् ।
मेसिन खरिदका लागि उद्योगीहरू समेत रहेको ‘कोभिड राहत कोष’ नामको समिति बनाई बैंकमा छुट्टै खाता खोलेर पैसा जम्मा गरिएको थियो । कोसी अस्पताल विराटनगरका ल्याब प्रमुख डा। कामना शर्मा र डाक्टर सुशील तापडियाको सुझावअनुसार जर्मनमा निर्मित क्वायजेन कम्पनीको रोटर–जेन क्यू ५ प्लेक्स एचआरएम सिस्टम मोडलको पीसीआर मेसिन खरिद गरिएको बताइएको छ ।
उक्त मेसिनमा कुनै समस्या आए तुरुन्तै स्वाबलाई अर्को मेसिनमा राखेर परीक्षण गर्न सकिने र परीक्षण नरोकिने भएकोले उनीहरूले सोही मोडेलको पीसीआर किन्न उपयुक्त हुने सुझाव दिएको थिए । उनीहरूको सुझावअनुसार सोही मोडलको मसिन खरिद गरेको महानगरले जनाएको छ ।
मेसिन खरिदका लागि भएको छलफलमा उक्त पीसीआर मेसिन तत्कालै कसले दिन सक्छ भनि सोधीखोजी गर्दा उद्योग संगठन मोरङका उपाध्यक्ष समेत रहेका प्रदीप मुरारकाले म दिन सक्छु त्यो पनि अति सस्तोमा भन्ने बाचा गरेपछि उनैमार्फत मसिन खरिद भएको थियो ।
विराटनगरका उद्योगीहरूले पीसीआर मेसिन खरिदका लागि सहयोग दिन थालेपछि मुरारकाले पनि पाँच लाख रुपैयाँ सहयोग दिने घोषणा गरेका थिए । तर उनै मुरारकाले सो मेसिन छोरा शिरिषमार्फत झिकाएर आठ लाख बढी मूल्य लिएको पाइएको हो । मेसिन खरिद गर्न आफूले दिएको सहयोगभन्दा ३ लाख बढी रुपैयाँ उल्टै मुरारकाले लिएको स्थानीयको भनाइ छ । उद्योगी मुरारकाले पीसीआर मेसिन खरिदमा पाँच लाख चन्दाको घोषणा गर्दा छलफलमा सहभागी सबै व्यापारी तथा उद्योगी समेतले आश्चार्य व्यक्त गरेको थिए ।
स्रोतका अनुसार शिरिष मुरारकाले मेसिन उनकै साथी काठमाडौं निवासी राजीव बाजोरियामार्फत खरिद गरेका हुन् । शिरिष मुरारका काठमाडौँमा बसेर मेडिकल उपकरणहरूको आयात गर्ने काममा संलग्न रहेको मुरारका निकटका उद्योगीहरूले जानकारी दिएका छन् । मुरारकामार्फत खरिद गरिएको उक्त पीसीआर मेसिन विराटनगर महनगरपालिकालाई गत सोमबार हस्तान्तरण गरिएको थियो । (आर्थिक दैनिकबाट)