कालिकोटमा सुख्खा पहिरो : एकै परिवारका ४ सहित १० जनाको मृत्यु, २ बेपत्ता

दियो पोस्ट  

कालीकोट — कालिकोटको तिलागुफा नगरपालिका –१ नाग्ममा आएको सुख्खा पहिरोका कारण चारवटा घर भत्किँदा एकै परिवारका ४ सहित १० जनाको मृत्यु भएको छन् । २ जना बेपत्ता छन् । घटनास्थलबाट उद्दार गरिएका २ जनालाई भने उपचारका लागि कर्णाली स्वास्थय विज्ञान प्रतिष्ठानमा लगिएको छ ।

नाग्म बजारको पछाडिपट्टिको भिरालो जमिन आइतबार बिहान भासिएर पहिरो गएको थियो । पहिरोका कारण घरभित्रै रहेकाहरू पुरिएका हुन् । पहिरोले लली नेपाली, मन्दिर कटुवाल, धनपति विक र वीर भेरिकारका घर भत्किँदा पुरिएकामध्ये १० को शव फेला परेको हो ।

शुभकालिका गाउँपालिका–७ घर भई नाग्म बजारमा व्यापार गर्दै आएका एकै परिवाका ४ जनाको मृत्यु भएको छ । ४० वर्षीय प्रयाग शाही, उनकी ७ वर्षीया छोरी हिमा तथा छोराहरू ५ वर्षका नीराजन र डेढ महिनाका अक्कलको घर भत्किएर भित्रै च्यापिँदा मृत्यु भएको हो । यस्तै, सुर्खेतको भेरीगंगा–१० की ४५ वर्षीया आइती खड्का, वीरेन्द्रनगरका २३ वर्षीय अमृत थापा, स्थानीय ३५ वर्षीय मनवीर बडुवाल, २७ वर्षीय टेक भेरिकार, २४ वर्षीय थाइला भेरिकार, १० वर्षीय गजेन्द्र भेरिकारको पनि मृत्यु भएको प्रहरीले जनाएको छ ।

सुरुमा ८ र केही घण्टापछि २ जनाको शव फेला परेको बताए । उद्धार टोलीले डोजर पनि लगाएर पहिरो पन्छाउँदै बेपत्ताको खोजी गरिरहेको छ ।

खोजीमा सेना, सशस्त्र र नेपाल प्रहरीसँगै स्थानीय पनि लागिपरेका छन् । नाग्म बजारमा मोबाइल नेटवर्क छैन । घटनाको खबर केही ढिला गरी जिल्ला सदरमुकामसम्म पुगेको थियो । पहिरोको खबर पाएलगत्तै जुम्ला सदरमुकाम खलंगा र कालीकोट सदरमुकाम मान्मबाट उद्धार टोली घटनास्थल पुगेको कालीकोटका प्रमुख जिल्ला अधिकारी चन्द्रप्रसाद गैरेले बताए । उनका अनुसार बेपत्ता रहेका २ जनाको नाम खुलिसकेको छैन ।

TATA ADD