अख्तियारका आयुक्त समलग्न एनजिओको सरकारी घरमा ओलीसहित एमालेको स्थायी समिति बैठक !

दियो पोस्ट  

काठमाडौं, १८ साउन । नेकपा एमालेको पछिल्लो स्थायी समितिको बैठक राजधानीको शंखमुल स्थित तुल्सीलाल अमात्य स्मृति प्रतिष्ठानमा बसिरहेको छ । नेपाल कम्युनिस्ट पार्टी का संस्थापक नेता स्वर्गिय तुल्सिलाल अमात्यको नाममा स्थापित यो प्रतिष्ठान मुलत एनजिओ हो ।


यो एनजिओले ललितपुरको शंखमुलको बालकुमारी रोडमा भव्य महल निर्माण गरेको छ । सरकारले दिएको उक्त सरकारी जग्गा भाडामा समेत लगाइएको छ ।

सोही जग्गामा निर्माण भएको भवनमा प्रधानमन्त्रीबाट पदच्युत भएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सहितका नेताहरुको बैठक बस्न थालेको छ ।

सोमबार सम्पन्न नेकपा एमालेको स्थायी समिति बैठकमा अध्यक्ष ओलीसहित १६ भन्दा बढी स्थायी समिति सदस्य उपस्थित थिए । यो प्रतिष्ठानको संरक्षक पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका बरिष्ठ नेता माधव कुमार नेपाल हुन् । उनी प्रतिष्ठानको पूर्व अध्यक्ष समेत हुन् ।


आश्चर्य त के छ भने ओली सरकारले अख्तियार दुरुपयो अनुसन्धान आयोगमा नियुक्त गरेको आयुक्त डा. सुमित्रा श्रेष्ठ आमात्य समेत यो प्रतिष्ठानको सचिव छिन् । उनको नाम प्रतिष्ठानको वेभसाइटमा ‘सचिव’कै हैसियतमा उल्लेख छ ।

त्यसो त नेकपा एमालले आफ्नो पार्टी केन्द्रीय कार्यालय थापाथलीस्थित एक व्यापारीको घरमा सञ्चालन गरेको छ । उक्त कार्यालय तत्कालिन प्रधानमन्त्रीका आर्थिक मामिला सल्लाहाकार तथा आयोडिन नुन तस्करीको आरोप लागेका मोतिलाल दुगडले व्यवस्थापन गरिदिएका थिए ।

यसअघि प्रधानमन्त्रीमा पदासिन रहँदा ओलीले प्रधानमन्त्री निवास बालुवाटारलाई नै पार्टी कार्यालय बनाएका थिए । उनले अधिकांश कार्याक्रम समेत बालुवाटारमै आयोजना गरेर बालुवाटारबाटै सत्ता चलाएका थिए । यता हालका प्रधानमन्त्री शेरबहादुर देउवाले भने पार्टीको कुनै पनि कार्यक्रम बालुवाटारमा नराख्ने घोषणा गरेका छन् ।