नीर शाह र ऋषी धमलाले विज्ञापन गरेको भूगर्भ सिमेन्ट कारबाहीमा : गुणस्तरहिन भएको पुष्टि !

diyopost.com
दियो पोस्ट  बुधबार, भाद्र ०२, २०७८ | ९:४१:११

तस्विरमा :मालिक पिताम्बर गैरे (माथि) सिमेन्टको विज्ञापन गर्दै ऋषी धमला र नीर शाह (तल)


काठमाडौं, २ भदौ । विभिन्न ब्राण्डको सिमेन्ट उत्पादन गर्दै आएको भूगर्भ सिमेन्ट उद्योगले गुणस्तरहिन सिमेन्ट उत्पादन गर्दै आएको पाइएको छ । भूगर्भ सिमेन्टको पीपीसी सिमेन्ट कम गुणस्तरको भेटिएपछि बिक्री वितरणमा रोक लगाइएको छ ।

कपिलवस्तु कृष्णनगरका रमाकान्त चौधरीले घर निर्माणमा कैफियत देखिएपछि नेपाल गुणस्तर तथा नापतौल विभागमा उजुरी दिएका थिए । उनको उजुरीका आधारमा नेपाल गुणस्तर तथा नापतौल विभागले भूगर्भ सिमेन्टको गुणस्तर परिक्षण गरेको थियो । परिक्षणका क्रममा कम्प्रेसिभ स्ट्रेन्थ ३ र ७ दिनको मान क्रमस ९ एमपिए र १५ एमपिए पाइएको छ ।

नेपाल गुणस्तर चिन्ह ३८५ अनुसार १६ एमपिए र २२ एमपिए हुनुपर्ने मापदण्ड छ । सो मापदण्ड पालना नभएपछि विभागले उक्त सिमेन्ट विक्री वितरणमा रोक लगाएको हो । विभागले उक्त उद्योगलाई स्पष्टिकरण सोधेको समेत जनाएको छ । तर, उक्त उद्योगमाथि के–कस्तो कारबाही भएको हो भन्ने यकिन विवरण सहितको प्रेस विज्ञप्ति विभागले हालसम्म पनि सार्वजनिक गरेको छैन । विभागले स्पष्टिकरण सोधेर पीडित रमाकान्तलाई भने अर्को सिमेन्ट दिन निर्देशन दिएको छ ।


स्रोतका अनुसार भूगर्भ सिमेन्ट उद्योगका मालिक पितान्बर गैरे उच्च राजनीतिक पहुँच भएका कारण उनलाई कारबाही गर्न विभाग डराएको छ । विभागले विज्ञप्ति समेत सार्वजनिक नगरि घटना लुकाएको विभागकै अर्का एक अधिकारीले बताए ।


कलाकार नीर शाह र टेलिभिजन प्रस्तोता ऋषी धमलाले भूगर्भ सिमेन्टले घर बनाउँदा घरको जगै बलियो हुने भन्दै विज्ञापनमा अभिनय गरेका थिए ।


यो सिमेन्ट उद्योगमा वागमती प्रदेशका नेपाली कांग्रेसका संसदीय दलका नेता तथा पूर्व गृहराज्यमन्त्री ईन्द्र बानियाँ, काठमाडौं विकास प्राधिकरणका पूर्व आयुक्त डा. भाइकाजी तिवारी लगायत समुहको लगानी रहेको छ । उच्च राजनीतिक घरानाको संलग्नता रहेका कारण विभागले कारबाहीको विवरण समेत सार्वजनिक गरेको छैन ।


कपिलवस्तुको शिवराज नगरपालिकामा रहेको यो उद्योगबाट एपोलो, देउराली, क्रिष्टल, ब्राण्डका पिपिपसी सिमेन्ट उत्पादन हुँदै आएको छ ।

सम्बन्धित खबर