काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीले आगामी निर्वाचनमा धाँधली भए प्रतिवादमा उत्रिन नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन्। शनिबार सुनसरीको दुहवीमा आयोजित पार्टी प्रवेश कार्यक्रममा ओलीले गठबन्धनको सरकारले धाँधली गर्नसक्ने भन्दै आवश्यक परे डस्न तयार भएर बस्न सचेत गराएका हुन् ।
सुनसरी क्षेत्र नम्बर ३ बाट कांग्रेस नेता विजयकुमार गच्छदारसँग पराजित भएकी एमाले नेतृ भगवती चौधरीको प्रसंग कोट्याउँदै उनले यो सरकारले धाँधली गर्नसक्ने बताए। ‘एमालेका नेता कार्यकर्ता गड्यौला जस्तो हुने हैन। दुईटा दाँत भएको जस्तो डस्न तयार पनि हुनुपर्छ। बुथ कब्जा गर्न कसैले खोज्छ भने जनताको मतको रक्षा गर्ने, जनताको सार्वभौम अधिकारको रक्षा गर्ने काममा लाग्नु पर्छ’ ओलीले भने।
मंसिर ४ गते नेकपा एमालेले बहुमतको सरकार बनाउने उनको दाबी समेत छ।