काठमाडौं । उदयपुर सिमेन्ट उद्योगमा चिनियाँ नागरिकको विवादास्पद भ्रमण भएको पाइएको छ ।
नेपाल सरकारको पूर्ण स्वामित्व रहेको उद्योगमा कुट्नीतिक मर्यादा विपरित निजि सिमेन्ट उद्योगका सिइओ समेत रहेका एक चिनियाँ नागरिकलाई रहस्यमयी रुपमा भ्रमण गराइएपछि विभिन्न आशंका गरिएको छ । केहीदिन अघि संघका महाप्रबन्धक गोपीकृष्ण न्यौपानेले ती नागरिकलाई उद्योगमा निम्त्याएको स्रोतले बताएको छ । उद्योगका कामु नायब महाप्रबन्धक उमाशंकर आनन्दले सामाजिक सञ्जालमा चिनियाँ नागरिकले सिमेन्ट उद्योग भ्रमण गरेको उल्लेख गरेका छन् ।
उद्योग भ्रमण गर्न आउने व्यक्ति धादिङको बेनघाट रोराङ गाउँपालिकामा खोला कब्जा गरि अवैध रुपमा निर्माण गरिएको ह्वासिन सिमेन्ट नारायणीका सिइओ रहेको बुझिएको छ । सरकारी सिमेन्ट उद्योगमा निजि सिमेन्ट उद्योगको विदेशी नागरिकलाई भ्रमणमा लानुलाई रहस्यमयी रुपमा हेरिएको छ । महाप्रबन्धक न्यौपानेका कारण टाट पल्टिन पुगेको यो उद्योगलाई लथालिङ्ग बनाएर निजिकरण गर्ने बाटोमा अग्रसर रहेको बताइन्छ ।
‘सरकारी सिमेन्ट उद्योगमा निजि सिमेन्ट उद्योग त्यसमा पनि विदेशी नागरिकलाई लिएर जान पाइँदैन,’ परराष्ट्र मन्त्रालयका एक अधिकारी भन्छन्,‘यसरी कुटनीतिक मर्यादा विपरित गतिविधि गरे कारबाहीको भागिदार पनि हुनुपर्छ ।’