काठमाडौं । नेपाल पर्यटन बोर्डका वरिष्ठ प्रबन्धक पदमा कार्यरत लक्ष्मण गौतमले सेवा प्रवेश गर्दा नक्कली कागजात बनाएर जागिर खाएको खुलेको छ ।
पर्यटन बोर्डको कर्मचारी सेवा विनियमावली २०६४ को विनियम ६ को उपविनियम( ३) को (ङ) मा प्रबन्धक स्तरको पदका लागि नेपाल सरकारबाट मान्यता प्राप्त विश्वविद्यालय वा सो सरहको अन्य शिक्षण संस्थाबाट स्नाताकोत्तर तह उत्तीर्ण गरेको र सम्बन्धितक्षेत्रमा अधिकृतस्तरको पदमा कम्तिमा पाँच वर्ष अनुभव प्राप्त गरेको व्यवस्था छ । सोही व्यवस्था अनुसार गौतमले बोर्डको प्रबन्धक पदमा नियुक्ति लिन आवेदन दिँदा कञ्चपुर ट्राभल्स एण्ड टुर्स प्रा.लि बाट नक्कली कागजात बनाएर पेस गरेको पुष्टि भएको छ ।
बोर्डले २०६४ सालमा गरेको विज्ञापनमा प्रबन्धक पदको पदपूर्तिका लागि दरखास्त आह्वान गरेको थियो । गौतमले कञ्चन ट्राभल्स एण्ड टुर्स प्रा.लि काठमाडौंमा २०५६ पुस १८ देखि २०५८ माघ ७ गतेसम्म करेस्पोन्डेन्ट पदमा काम गरेको भनी अनुभवको पत्र पेश गरेको थिए ।
कम्पनी रजिष्ट्रार कार्यालयको अभिलेख अनुसार कञ्चपुर ट्राभल्स एण्ड टुर्स प्रा. लि.२०५७ भदौ २१ गते मात्र दर्ता भएको छ । नक्कली कागजात बनाउने क्रममा गौतमले कम्पनी स्थापना नहुँदैदेखि काम गरेको अनुभव देखाएका छन् ।
बोर्ड स्रोत अनुसार अनुभव प्रमाण पत्र पेस गरेका गौतमले नियुक्ति पत्र भने पेस गरेका थिएनन् । कुनै पनि सार्वजनिक निकायमा छनोटका लागि विज्ञापन अनुसार आवेदन दिँदा अनुभवको प्रमाणसहित नियुक्ति पत्र पनि अनिवार्य संलग्न हुनुपर्ने कानुनी व्यवस्था छ । गौतमले बोर्डमा दरखास्त फारमसाथ पेश गरेको अनुभवको प्रमाणपत्र हेर्दा कञ्चन ट्राभल्स एण्ड टुर्स प्रालिबाट पेस गरेको कागजात नक्कली भएको पुष्टि भएको हो ।
गौतमले कम्पनी स्थापना नहुँदै देखि काम गरेको भनेर झुठा विवरण तयार गरी अनुभव प्रमाणपत्र लिएको देखिन्छ । कम्पनी रजिष्ट्रार कार्यालयको रेकर्डमा कञ्चन टुर्स एण्ड ट्राभल्स नायराणप्रसाद सापकोटा, प्रेमप्रसाद कँडेल र श्रीप्रसाद बस्ताकोटीको संयुक्त नाममा २०५७ भदौ २१ मा दर्ता भएको छ । गौतमविरुद्ध नक्कली कागजात पेस गरेर जागिर खाएको भनि अख्तियार दुरुपयोग अनुसन्धान आयोग, संस्कृत पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पनि उजुरी परेको थियो । उजुरी परे पनि प्रभावमा पारेर गौतमले जागिर जोगाएको पर्यटन मन्त्रालयका एक अधिकारी बताउँछन् । ‘कम्पनी स्थापना नहुाँदैदेखि कम्पनीमा काम गरेको फर्जी अनुभव पत्र पेश गरेको अभिलेखबाट देखिन्छ,’ ती अधिकारीले भने,‘ भनसुन र प्रभावको कारण कारबाही भएको छैन ।’
कम्पनी रजिष्ट्रारको कार्यालयबाट अभिलेख मगाए भिडाउनासाथ गौतम सेवाबाट मुक्त हुने ती अधिकारीले बताए । ‘ कम्पनी दर्ता नहुँदैदेखि काम गरेको नक्कली कागजात पेस गरेकाले अनुभव पुग्दैन,’ ती अधिकारीले भने, ‘गहिरो छानबिन गर्ने हो भने उहाँ (गौतम)ले पेश गरेको कागजात नै झुटो छ ।’
नक्कली कागजात पेश गरेका गौतमले आफु कञ्चन ट्राभल्स एण्ड टुर्स प्रा.लि.मा कर्मचारीको रुपमा काम गरेको बताए । मैले कर्मचारीको हैसितमा काम गरेको हो,’ गौतमले नागरिकसँग भने, ‘कम्पनी दर्ता भएको छ –छैन जानकारी भएन ।’ आफुले काम गरेको कम्पनीको अनुभव पत्र पेस गरेको उनले बताए । कम्पनी दर्ता नहुँदै कसरी काम गर्नुभयो भन्ने जिज्ञासामा गौतमले भने, ‘मैले आफैले बनाएका होइन कम्पनीले दिएको हो ।’
सेवा प्रवेश गर्दा गौतमले करेस्पोन्डेन्ट पदमा काम गरेको अनुभव पेस गरेका थिए । करेस्पोन्डेन्ट पद अधिकारी सरह हो वा होइन भन्ने विवाद भएपछि गौतमले फेरि करेस्पोन्डेन्ट पद ‘अफिसर’ सरह रहेको कागजात पनि बनाए बोर्डमा पेस गरेका थिए । दरखास्त दिने प्रयोजनार्थ जबरजस्त तवरमा करेस्पोन्डेन्ट पदलाई ‘अधिकारी पद’ सरह रहेको भनि व्याख्या गराइ फेरि अनुभवको प्रमाणपत्र पेस गरेका थिए । गौतमले राजनीतिक पहुँच प्रयोग गरेर तत्कालीन पर्यटन मन्त्री रवीन्द्र अधिकारी र योगेश भट्टराईका पालामा सल्लाहकार पद समेत हात पारेका थिए ।
आजको नागरिक दैनिकमा खबर छ ।