काठमाडौं । निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी सक्रिय राजनीति फर्किने चर्चा चलिरहेको छ । नेपाल कम्युनिस्ट पार्टि (एमाले) की पूर्वउपाध्यक्षसमेत रहेकी भण्डारी एमालेबाटै फेरि सक्रिय राजनीतिमा आउने चर्चाले अहिले बजार तातेको छ ।
एमालेको एक पक्ष भण्डारीलाई एमालेमा ल्याउन सक्रिय रुपमा लागेको छ भने अर्को पक्ष रोक्ने प्रयास गरिरहेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पार्टी नेतृत्वबाट हटाएर २०८४ सालको आमनिर्वाचनमा भण्डारीको नेतृत्वमा प्रतिस्पर्धा गर्ने योजना भित्रभित्रै बनेको छ ।
एमाले अध्यक्ष ओलीको नेतृत्वमा २०७९ सालको निर्वाचनमा राम्रो नतिजा ल्याउन नसकेको बुझाइ भण्डारीलाई भित्र्याउन चाहनेहरुको छ । तत्कालीन नेकपाको दुई तिहाइ नजिकको बहुमत जोगाउन ओली असफल भएको र उनकै नेतृत्वमा २०७९ सालको निर्वाचनमा प्रतिस्पर्धा गर्दा राम्रो नतिजा आउन नसकेको निष्कर्ष उनीहरुको छ । ओलीकै नेतृत्वमा २०८४ सालको निर्वाचनमा समेत राम्रो नतिजा ल्याउन नसकिने भएकाले त्यसअधि नेतृत्व फेर्नुपर्ने कसरत भइरहेको छ ।
‘ओलीको हठ, गलत कार्यशैली एवं मनोमानीले आउने निर्वाचनमा पार्टीले राम्रो नतिजा ल्याउन नसकिने २०७९ सालको निर्वाचनबाट प्रस्ट भइसकेको छ, राम्रो नतिजा आए पनि त्यसालाई जोगाउन नसकिने नेकपाको प्राप्त बहुमतबाट पनि देखियो, त्यसैल अब आउने निर्वाचन अघि नेतृत्व फेर्नुको विकल्प छैन,’ ओलीको नेतृत्व फेर्नुको अभियानमा लागेका एमालेका एक स्थायी कमिटी सदस्यले भने ।
ओलीको नेतृत्व फेर्ने र भण्डारीलाई नेतृत्वमा ल्याउने चर्चाले अहिले एमालेमा नयाँ गुट निमार्णले तीव्रता पाएको छ । पार्टी महासचिव शंकर पोखरेलसहितका नेताहरुले भण्डारीलाई भेटेरै सक्रिय राजनीतिमा फर्किन आग्रह गरिसकेको छन् । नेतृत्वमा भण्डारीलाई ल्याउन खोजेका पोखरेल शनिबार सद्भावनापूर्ण चीन भ्रमणका लागि त्यसतर्फ लागेका छन् ।
चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा महासचिव पोखरेल नेतृत्वको टोलीले १२ दिने भ्रमण गर्ने र सो भ्रमण टोलीमा पार्टी स्थायी समिति सदस्य तथा परराष्ट्र मामिला विभाग प्रमुख डा. राजन भट्टराई, स्थायी समिति सदस्य तथा प्रचार विभाग प्रमुख राजेन्द्र गौतमलगायत केन्द्रीय तहका नेता रहेका छन् ।
भ्रमण टोलीले गणतन्त्र चीनका तीन मुख्य सहर छोङ्छिङ, बेइजिङ र छिङ्हाईको भ्रमण गर्ने भनिए पनि भण्डारीलाई कसरी एमाले नेतृत्वमा स्थापित गर्ने भन्ने विषयमा समेत चीनमै थप योजना बन्ने बताइएको छ ।
आजको राजधानी पत्रिकाम खबर छ ।