दाहाललाई कसको डर ?

दियोपोस्ट संवाददाता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकार ढाल्न षड्यन्त्र भइरहेको दोहो¥याएका छन् । उनले सरकार ढालेमा त्यसविरुद्ध आन्दोलन गर्ने चेतावनी पनि दिएका छन् । सुर्खेतमा बिहीबार सरकारविरुद्ध चलखेल भए त्यसको प्रतिवाद गर्ने बताएका उनले शनिबार काठमाडौंमा समेत त्यस्तै अभिव्यक्ति दोहा¥याए ।

‘प्रतिक्रियावादीहरुबाट गठबन्धन टुटाउन अनेक चेष्टा हुने गरेका छन्, ३२ सिटको पार्टीको प्रधानमन्त्री भएको छु कति दिन रहने हो ? १५ दिन, एक महिना, दुई महिना, जति दिन रहन्छु राष्ट्र र जनताको पक्षमा सम्पूर्ण इमान्दारिताका साथ काम गर्नेछु ’ उनले शनिबार चन्द्रगिरिमा पार्टीको तीनमहिने अभियान उद्घाटन गर्दै भने, मलाई जसले हटाउनेछन्, तिनका विरुद्ध लाखौं–करोडौं जनतामा गएर आन्दोलनको नेतृत्व गर्ने संकल्प गरेको छु ।’

आफुलाई हटाउने षड्यन्त्र भइरहेको बताएका उनले पाँचै वर्ष आफुले सरकारको नेतृत्व गर्ने सम्भावना रहेको उल्लेख गर्दै कांग्रेस सभापति शेरबहादुर देउवालाई पनि झस्काइदिएका छन् । ‘अहिले आठ महिना भयो हट्न परेको छैन, मलाई लाग्छ सायद पाँचै वर्ष हट्न पर्दैैन जस्तो देख्दै छु’ उनले थपे, जनताको साथ भयो भने यो गठबन्धन पाँचै वर्ष चल्छ ।’ गठबन्धन निमार्ण गर्ने बेला दाहाल र देउवाबीच आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भएको थियो ।

उनले सरकारबाट आफुलाई हटाउने गतिविधिलाई नजिकबाट हेरिरहेको समेत बताएका छन् । समाजवादी मोर्चाको सन्देशसभामा बिहीबार सुर्खेतमा उनले सुशासन, सामजिक न्याय र समृद्धिको पक्षमा काम गर्दागदै हटाउन खोजे आफूले ‘हेर्ने’ चेतावनी दिएका हुन् । ‘ मलाई केही लिनु छैन, केही दिनु छैन, जे छ राष्ट्र र जनताका लागि, क्रान्ति र उपलब्धि रक्षाका लागि हो, यो सरकार कतिसम्म चल्छ, मलाई टेन्सन छैन,’ उनको भनाइ थियो, ‘सरकार टिकाउन यस्तो ग¥यो भन्छन्, त्यो वाहियात हो, जनताले हरिरहेका छन्, राम्रो काम गर्दागर्दै कसले हटाउँदो रहेछ, हेर्छु ।’ त्यहाँ पनि उनले आफू हटनुपरे सडक तताउने बताए । ‘वर्षा सिद्धिएपछि लार्खौ जनता सडकमा ल्याएर राष्ट्रियता, जनजीविका र सामाजिक न्यायको पक्षमा भ्रष्टाचारलाई जगैदेखि हाल्याइदिनुपर्ने हुन्छ । जनतालाई सडकमा नल्याई सरकारले गरिदेला र खाऊँला भन्नु भूल हो ।’

गठबन्धको प्रमुख घटक कांग्रेसले सार्वजनिक रुपमा कुनै प्रश्न नउठाइरहेका बेला दाहालले भने आफ्नो सरकार ढाले त्यसको प्रतिवाद गर्ने लगातार चेतावनी दिइरहेका छन् । यो अभिव्यक्ति उनीमाथि मनैवैज्ञानिक दबाब परेको स्पष्ट संकेत गरेको छ । प्रधानमन्त्री दाहालले सरकार ढाल्ने षड्यन्त्र कसले गरेको भन्ने खुलाएका छैनन् तर एउटै तिरले दुई शिकार गर्न खोजेका देखिन्छ । उनले आफ्ना सरकारका बारेमा प्रश्न उठाउने गठबन्धनभित्रको कांग्रेस र बाहिरका अन्य शक्तिलाई एकैपटक सन्देश दिन खोजेका छन् । भ्रष्टाचारविरुद्ध सरकारी अभियानले कांग्रेसलाई कमजोर बनाउन खोजेके भन्ने प्रश्न उठेको छ । जसका कारण दाहालले सरकार ढाल्न खोजे त्यसको प्रतिवाद गर्ने चेतावनी दिएको विश्लेषण गठबन्धनभित्र देखिन्छ ।

कांग्रेसका नेताले भने हाल सरकार संकटमा नपरेकाले दाहालबाट चेतावनीको अभिव्यक्ति आउनु आश्चर्य भएको बताए । कांग्रेस प्रवक्ता मीन विश्वकर्माले गठबन्धनभित्रै कुनै समस्या नभएका बेला प्रधानमन्त्री दाहाल र उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठबाट यस्ता अभिव्यक्ति आउनु आश्चर्यजनक भएको बताए । ‘प्रधानमन्त्री र गृहमन्त्री पटकपटक चेतावनीको अभिव्यक्ति आउनु शंकास्पद छ,’ उनले भने, सरकारको सुशासन अभियान प्रक्रियागत ढंगले पारदर्शी नभएको र केही त्रुटि भएको भन्ने प्रश्न उठेका छन् । तिनको जवाफ माग्दा सरकार ढाल्न खोजेको बुझ्नुमा मनको बाघले त खाएको होइन ? भन्ने प्रश्न उठेका छन् ।’

कांग्रेसले सरकारको विकल्प नखोजेको उल्लेख गर्दै उनले प्रधानमन्त्री दाहाल आफैं संशकित हुनु आश्चर्य भएको टिप्पणी गरे । कांग्रेस गठबन्धन सरकारको विकल्प खोज्ने पक्षमा छैन, ’ उनले भने । दाहालनिकट स्रोतका अनुसार सरकार ढाल्न खोजे सडकमा आउने बताउनुको पछाडि मुख्य दुई सन्देश भएको बताए । ‘पहिला–गठबन्धनभित्रबाटै तत्काल सरकारको विकल्प नखोजियोस्, दोस्रो भन्यो, बाहिरका शक्तिहरले गठबन्धनभित्र चलखेल नगरुन,’ स्रोतले भन्यो,’ सरकारबाट बाहिरिनुप¥यो भने सडक आन्दोलनका लागि माओवादी कार्यकर्तालाई मानसिक रुपमा तयारीमा राख्नु ।’

माओवादी उपमहासचिव वर्षमान पुनले भने सरकारले बहुमत गुमाउने अवस्था नरहेको र सरकारले जबर्जस्त राम्रो काम गरिरहेको अवस्थामा कसैले ढाल्न सक्ने अवस्था नभएको बताए । ‘गठबन्धन बलियो अवस्थाम छ, सरकारले सुशासन, सामाजिक न्याय र श्रमजीवकिो पक्षमा जबर्जस्त काम गर्दै छ,’ अहिले कसैले ढाल्न सक्दैन ।’

जनतासँग माओवादी विशेष रुपान्तरण अभियान सुरु गर्दै दाहालले आफ्नो पार्टीको ३२ सिट मात्र भए पनि राजनीतिक मुद्दाकै कारण सरकारको नेतृत्व गरिरहने दाबी गरे ।
आफ्नो अभिव्यक्तिमा सरकारको भ्रष्टाचारविरोधी अभियान, सामजिक न्याय र आफ्नो भारत भ्रमणको चर्चामा समय खर्चिएका उनले सरकारका कामलाई मुलुकका ६ हजार ७ सय ४३ वडामा युद्धस्तरमा पु¥याउन निर्देशन पनि दिए । माओवादी सरकार, सदन र सडकबाट सरकारका कामको चर्चा सबै वडामा पु¥याउने निर्णय गरिसकेको छ ।

माओवादी एक पदाधिकारीले सरकारको भविष्यबारे तीन सम्भावना देखाए । पहिलो, गठबन्धन सरकार पूरै पाँच वर्ष चल्छ । गठबन्धनमा भएको प्रमुख दल कांगे्रसका सभापति शेरबहादुर देउवा पनि आफु प्रधानमन्त्री हुनेबेलासम्म यही टिकाउन दुढ छन् । नक्कर्ली शरणर्थी प्रकरणमा नेता बालकृष्ण खाणलाई पक्राउ गर्दासम्म पनि उनी हलचल भएनन् । दास्रो, यो सरकार दरबारको धारमा छ । नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान पत्नी आरजुतिर सोझियो भने देउवाको मनस्थिति बदलिन सक्छ । ललिता निवास प्रकरणमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई तानेको भए पनि संकट आउन सक्थ्यो । तेस्रो राष्ट्रिय –अन्तराष्ट्रिय परिस्थितिका कारण यो गठबन्धन भत्किन सक्छ । यी तीनै परिस्थितिलाई ध्यानमा राखेर दाहालले अभिव्यक्ति दिने गरेका छन् ।

ललिता निवास प्रकरणमा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाललाई समेत अनुसन्धानको दायरामा ल्याएको भए सरकारप्रति संशय हुने अवस्था रहन्थ्यो । त्यसलाई दाहालले टारेका छन् । शुक्रबार समाजवादी मोर्चाको सभामा त दाहालले नेपाल निर्दोष रहेको दाबी नै गरिदिए । ‘माधव नेपालको नाम आउँदा उहाँलाई मात्र होइन, मलाई पनि तनाव भयो, मैले प्रहरीलाई जो कोही परे पनि छानबिन गर भनेर निर्देशन दिए, उनको भनाइ थियो, ‘छानबिन गर्दा म नै परे पनि नछाड्नुुस् भनेको छु । पार्टीमा कति आफन्तलाई जोगायौ भन्ने आरोप पनि लाग्यो । अहिले पार्टीका व्यक्ति पनि परेका छन् । छानबिन सबैलाई हुनुपर्छ ।’

आजको कान्तिपुर पत्रिकामा खबर छ ।

सम्बन्धित खबर