काठमाठौं । विभिन्न स्थानमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । नुवाकोटको बिदुर नगरपालिका–१० बेत्रावतीस्थित उत्तरगया हार्डवयरको बालुवा डिपोमा बा.४ ख ४३४२ नम्बरको टिपर बालुवा लोड गर्दा ब्याक गर्ने क्रममा टिपरको टायरले किच्चिएर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रसुवा उत्तरगया गाउँपालिका–१ गोगनी घर भएका ३७ वर्षीय कामी तामाङ रहेका छन् । टिपरको टायरले किँचिदा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल त्रिशुलीमा उपचारको क्रममा शनिबार दिउँसो मृत्यु भएको हो । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
साथै नवलपरासी (पूर्व)को गैंडाकोट नगरपालिका–२ नारायणी पुलस्थित सडकमा बाग्मती प्रदेश ०६–०१ प २९५४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पुलको डिभाईडरमा ठोक्किएर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा चितवन भरतपुर महानगरपालिका–२८ बस्ने २८ वर्षीय नारायण ढकाल रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा शनिबार राति मृत्यु भएको हो ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।