क्यानडा पठाई दिने भनी अनलाईन मार्फत रकम ठगी गरेको आरोपमा २ जना पक्राउ

दियो पोस्ट  

काठमाडौं । क्यानडा पठाई दिने भनी अनलाईन मार्फत रकम ठगी गरेको आरोपमा २ जना पक्राउ परेका छन् । सामाजिक सञ्जाल इन्स्ट्राग्रामको टाइमलाइन स्टोरीमा आकर्षक तलब सुविधामा वैदेशिक रोजगारको लागि क्यानडा पठाई दिने भन्दै प्रलोभनमा पारी रकम ठगी गरेको आरोपमा उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा कास्की माछापुच्छ्रे गाउँपालिका–६ ठेगाना भएका ३० वर्षीय लक्ष्मण नेपाली र सप्तरी राजविराज नगरपालिका(४ ठेगाना भएका ३५ वर्षीय महावीर प्रसाद साह रहेका छन् ।

उनीहरूले क्यानडाको वर्क परमिट भिसा पाइने भन्दै सामाजिक सञ्जालमा नक्कली बिज्ञापन पोष्ट गरेका थिए । उक्त पोष्टको मार्फतबाट उनीहरूले सम्पर्कमा आएका पीडितलाई क्यासियरको काम लगाइदिन्छु, मासिक ५ लाख ४५ हजार रूपैयाँ तलब हुने, प्रोसेसिङको लागि आवश्यक कागजातहरु पठाउन रकम तिर्नु पर्ने बताए ।

उनीहरूले विभिन्न व्यक्तिहरूका नामको खाताहरुमा पटक–पटक गरी जम्मा ३४ लाख ५७ हजार ७ सय १० रूपैयाँ रकम पठाउन लगाएका थिए । उक्त रकम ठगी गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

उनीहरूलाई ठगी सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान एवं कारवाहीको लागि जिल्ला प्रहरी परिसर भक्तपुर पठाइएको छ ।