वडाध्यक्ष मुकुन्द रिजालको निधन,पार्थिव शरीर बिहान ११ बजेदेखि श्रद्धाञ्जलीका लागि राष्ट्रिय सभागृहमा राखिने

दियो पोस्ट  

काठमाडौँ । काठमाडौँ महानगरपालिका–१६ का वडाध्यक्ष मुकुन्द रिजालको निधन भएको छ । उनको निमोनियाका कारण निधन भएको हो ।

निमोनिया र डेंगु संक्रमणपछि रिजाललाई उपचारका लागि यही भदौ १७ गते ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल भर्ना गरिएको थियो । अस्पतालको सघन उपचार कक्षमा उपचार गराइरहेका उनको दुवै फोक्सोमा सिभियर निमोनिया (भाइरल निमोनिया) का कारण आज बिहान ७ः३० बजे निधन भएको अस्पतालका स्वास्थ्य निर्देशक डा. विनोद विजुक्छेले जानकारी दिए ।

नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं ७ का क्षेत्रीय सभापतिसमेत रहेका वडाध्यक्ष रिजाल २०७९ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा काठमाडौँ महानगरपालिका–१६ मा दोस्रोपटक वडाध्यक्षमा निर्वाचित भएका थिए । वडाध्यक्ष रिजालका श्रीमती र दुई छोरा छन् । उनको पार्थिव शरीरलाई श्रद्धाञ्जली दिनका लागि बिहान ११ बजेदेखि राष्ट्रिय सभा गृहमा राखिने महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले जानकारी दिए । त्यसपछि आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने परिवारका एक सदस्यले जानकारी दिए ।