
काठमाडौं । विभिन्न स्थानबाट जबरजस्ती करणी गरेका आरोपमा ३ जना पक्राउ परेका छन् । बर्दियामा ३० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एकलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बासगढी नगरपपालिका–९ माछागढ बस्ने ३९ वर्षीय शेर बहादुर थापा रहेका छन् । थापाले ती महिलालाई बारबर्दिया नगरपालिका–४ सिटीबरेलीमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय बानियाभारबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।
यसैगरी रूपन्देहीमा १० वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको तिलोत्तमा नगरपालिका–२ सिमानगर बस्ने ५४ वर्षीय गणेश न्यौपाने रहेका छन् । न्यौपानेले ती बालिकालाई गत आइतबार बुटवल उपमहानगरपालिका–४ तिनाउखोलाको झाडीमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा नगर प्रहरी कार्यालय योगीकुटीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
साथै भोजपुरको १० वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको टेम्केमैयुम गाउँपालिका–२ घुप्कालुङ बस्ने ५० वर्षीय कृष्ण राई रहेका छन् । राईले ती बालिकालाई ललाई फकाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी
कार्यालय दिल्पाबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।
सवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।