छुट्टाछुट्टै ठाउँमा सवारी दुर्घटनामा ३ जनाको मृत्यु

दियो पोस्ट  

काठमाडौं । विभिन्न स्थानमा सवारी दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । नवलपरासी (पश्चिम)को बर्दघाट नगरपालिका–१४ चौपत्तास्थित सडकमा युपि ५६ एएन ९६४९
नम्बरको मोटरसाइकलबाट खसेर मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भारत उत्तर प्रदेश घर भएकी ४५ वर्षीया मिरादेबी चौरासिया रहेकी छिन् । दुर्घटनामा गम्भीर घाइते भएकी उनको सहिद स्मृति सामुदायिक अस्पताल चौपत्ता हुँदै जिल्ला अस्पताल परासीमा थप उपचारको क्रममा बुधबार दिउँसो मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैगरी पर्साको वीरगंज महानगरपालिका–१६ स्थित सडकमा ना.५५ प ७२८६ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा भारत घर भएका ५० वर्षीय सत्यनारायण यादव रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको लागि नारायणी अस्पताल वीरगंजतर्फ लैजाने क्रममा बुधबार राति बाटोमै मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

साथै सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ कोदारी बजार नजिक सडकमा बा.प्र.०२–०४३ प २८२१ नम्बरको स्कुटरको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मकवानपुर रक्सीराङ गाउँपालिका–९ घर भई ईलाका प्रहरी कार्यालय कोदारीमा कार्यरत प्रहरी हवल्दार शिवन कुमार प्रजा रहेका छन् । ईलाका प्रहरी कार्यालय कोदारीबाट पैदल गस्ती गर्ने क्रममा स्कुटरले ठक्कर दिई गम्भीर घाइते भएका उनको प्राथमिक स्वस्थ्य केन्द्र बाह्रविसे हुँदै धुलिखेल अस्पतालमा थप उपचारको क्रममा बुधबार राति मृत्यु भएको हो । स्कुटर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सबै दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।