
काठमाडौं । करिब दुई दशकअघि रामकुमारी पाण्डे (रीता)ले एसएलसी पास गरिन् । एसएलसीपछि के विषय पढ्ने ? कुन कलेज पढ्ने ? जस्ता प्रश्नहरु मनमा उब्जिनु स्वभाविकै हो । रीता पनि यो प्रश्नबाट अछूतो रहन सकिनन् । अन्तत उनको ध्यान प्राविधिक शिक्षातिर गयो । काम पनि चाडो पाइने भन्दै साथीहरुको लहलहैमा र प्राविधिक क्षेत्रमा भएका दाजु भाउजुको सल्लाहअनुसार कर्णाली प्राविधिक शिक्षालय जुम्लामा छात्रावृत्तिका लागि परीक्षा दिइन् । उनको रुची सिएमए पढ्ने भएपनि छात्रावृत्तिमा संयोगवस भेटनरीमा निस्कियो । नाम निस्केपछि पशुको सेवा पनि राम्रै हो भनेर अध्ययनमा जुटिन् । २ वर्षको अध्ययन सकिए लगत्तै उनी जागिरमा प्रवेश गरिन् । २०६० सालदेखि नै जागिरमा प्रवेश गरेकी रीतासँग कामको शिलसिलामा केही तिता मिठा अनुभव छन् ।
अध्ययनपछि सुर्खेतबाट लोकसेवा पास गरेकी उनको सुर्खेतमै सिफारिस भइन् । त्यसपछि सुर्खेतका गाउँ–गाउँमा प्याराभेटनरीका रुपमा काम गर्न थालिन् । किसानका वस्तुभाउ विरामी पर्दा वा कृतिम गर्भाधान गराउनु परे अथवा क्यास्ट्रेसन (बोकालाई खसी बनाउने) का लागि प्राविधिक बोलाउँथे सबै तयारी गरेर गएकी पाण्डेलाई देखेपछि “आईमाई मान्छेले कहाँ सक्छ ? भो पर्दैन जाऊ तिमी” भनेर फर्काउँथे भने, केहीले ’ए, केटी मान्छे पो ? आइमाईले गरेर होला र ?’ भन्दै उनीमाथि प्रश्न गर्थे । पाण्डेले ती र त्यस्तै गाउँलेसँग पौठेजोरी खेलेरै अहिले आफ्नो कामको विश्वास बढाएकी छन् । पाण्डेले प्याराभेटेनरियनका रूपमा काम थालेदेखि अहिलेसम्म महिलाको काममा विश्वास नगर्ने परिपाटीलाई नजिकबाट नियालेकी छन् । “काम गर्न गएबापत पाउनुपर्ने शुल्क पाइँदैनथ्यो, विरामी पशुको उपचार गरेपछि सञ्चो हुँदा मात्र दिइएका घटना अझै सम्झना आउँछ,” उनले भनिन् । तर, यस्तो व्यावहार पुरुष प्राविधिकलाई भने गरिन्थेन । प्राविधिक भएर काम गर्न बलियो मान्छे र पुरुष पो चाहिन्छ भन्ने मानसिकतामा थियो समाज । बाख्राको पाठोलाई खसी बनाउनुपर्ने थियो तर गाउँलेले नपत्याएपछि आफ्नो काम प्रमाणित गर्न नैतिक दबाव आयो । खसी बनाउनुपर्ने पाठालाई तलमाथि भए मेरो जिम्मेवारी भयो, काम गर्न दिनुस् भनेर पाठाको मूल्य बराबरको पैसा तिरिन् । बल्ल गाउँलेले खसी बनाउन दिए । उनी भन्छिन्, “काम गरेपनि पारिश्रमिक पाइदैनथ्यो, विरामी पशुको उपचार गरेपछि सञ्चो हुँदा मात्र दिइएका घटना अझै सम्झना आउँछ ।”
तर, रीतालाई परिवारबाट प्रेरणा र साथ दुबै थियो । समाजको सोचभन्दा परिवारको सोच भिन्न भएकै कारण उनी पढ्न पाएको बताउँछिन् । परिवेश छोरा मात्रै पढाउने भएपनि रीताको परिवारमा भने दाजु भाईभन्दा आफूहरु लागि अवसरहरु धेरै हुने बताउँछिन उनी । “छोरीलाई किन पढाएको होला ? पढाए पनि अर्कैको घरमा गइहन्छन् भन्दै मेरो समुदायमा मान्छेले मेरो परिवारलाई प्रश्न गर्थे,’ उनले भनिन्,“तर पढाइको विषयमा हाम्रा लागि परिवार जहिले पनि प्रेरणाको स्रोत बन्यो ।” हक्की स्वाभावकी रीता काममा पनि उत्तिकै अडिक थिइन् । प्राविधिक शिक्षाको अध्ययनपछि लोकसेवा पास गरेर जागिर, प्लस टु पास एकै पटक सकाइन् । यसको केहीसमय लगत्तै रीता विवाह बन्धनमा बाँधिइन् । वैवाहिक जीवनपछि पनि उनी आफ्नो कामलाई निरन्तरता दिदै आइन् ।
पाण्डे अहिले किर्तीपुरस्थित राष्ट्रिय किसान आयोगमा प्राविधिक सहायकको रुपमा कार्यरत छन् । रीताले अनुभव सुनाउँदै भनिन्,“ठूलो पशुवस्तुसँग भिड्न उत्तिकै जोखिमपूण काम हो । त्यसमा पनि कतिपय ठाउँमा नियन्त्रण गर्न स्रोत साधन हुँदैन । त्यो अवस्था भने हामीलाई निकै जोखिम हुन्थ्यो । हामीसँग कुनै पनि सुरक्षित सामाग्रीहरु हुँदैनथे ।”
बस्तुभाउको उपचारका क्रममा उत्तिकै जोखिम रहेको उनी बताउँछिन् । यसका लागि कुनै सुरक्षित साधनको अभावका कारण पनि अहिले पनि उत्तिकै जोखिम हुने उनको तर्क छ । “कृर्षि क्षेत्र सरकारको पहिलो प्राथमिकतामा पर्छ । हरेकको भान्सामा आवश्यक पर्ने खाद्य सामानदेखि दैनिक जीवनका नभई नहुने सामानसम्म कृषी क्षेत्रबाटै उत्पादन हुन्छ,” उनले भनिन,“हामीले यस्ता महत्वपुर्ण विषयमा ध्यान दिँदैनौं । सरकारको सबैभन्दा थोरै बजेट नै कृषी क्षेत्र हुँन्छ । किसानले समयमा मल पाउँदैनन् । यस्ता खालका कयौं समस्याहरु छन् । यसमा कसको ध्यान जाने ?”
जागिरसँगै रामकुमारीले ३ वर्षअघि बट्टाइ फार्म खोलिन् । ३ लाख लगानीमा १२ सय बट्टाई पालन गरेकी पाण्डेका लागि यो नाँ अनुभव थियो । विश्व महामारीको रुपमा फैलिएको कोराना (कोभिड–१९) का कारण नत बट्टाईका अण्डा विक्री भए नत बट्टाई नै । यसपछि भने उनलाई आफ्नै व्यवसायी गर्ने आट आएन । फाइदा त परैको कुरा लगानीसम्म उठेन ।

पछिल्लो समय पशु रोगका कारण किसान मारमा परेका छन् । लम्पी स्किन भाइरसले गर्दा करोडौंको क्षती भएको छ । यसलाई सरकारले अझै पनि गम्भिरतापूर्वक लिएको देखिदैन । थुप्रै क्षती भएपछि मात्रै उपचार थालियो । उक्त विषयलाई जोड्दै रामकुमारी भन्छिन्,“लम्पी स्किन यो एक भाइरस हो । यो भाइरस २ वर्ष पहिले नै नेपालमा देखिए पनि यसलाई वेवास्ता गरियो । सरकार र सम्बन्धित निकायहरु समयमा नै गम्भिर नभएका कारण करोडौंको क्षती हुन पुग्यो । यसको रोकथामका लागि सरकारसँग पूर्व योजना भएको भए करोडौंको हानी हुने थिएन । सम्बन्धित निकायको वेवास्ताका कारण किसान मारमा परे ।” सरकारले हरेक वर्ष ल्याउने बजेटमा कृषी क्षेत्रलाई उपेक्षा गरिएको उनको भनाई थियो । कृषी सम्बन्धी नीति कानुनमा पनि सरकारको ध्यान जान नसकेको समेत उनको गुनासो छ ।
पशुचिकित्सा परिषद्का अनुसार लम्पी स्किन महामारीबाट अहिलेसम्म करिब२७ अर्ब २२ करोड ५० लाख रुपैयाँ बराबरको क्षति भइसकेको अनुमान छ। ठूलो क्षति बेहोरे पनि सरकारको तर्फबाट कुनै प्रकारको सहयोग नपाएको किसानहरूले गुनासो गर्दै आएका छन्।