मुसहर समुदायका पीडा, नागरिकता बनाउन तिस हजार !

दियोपोस्ट संवाददाता

काठमाडौं । सिरहाका विभिन्न पालिकामा रहेका मुसहर समुदाय अझै पनि नागरिकता र जन्मदर्ताको समस्या हुँदा विभिन्न सेवा र सुविधाबाट वञ्चित भइरहेका छन् ।

धनगढीमाई नगरपालिका–९ मुसहर्नियामा ४५ घरपरिवार रहेका सदाय बस्तीमा अहिले पनि २० परिवारसँग नागरिकता छैन भने बालबालिकाको जन्मदर्ता नहुँदा विद्यालयमा भर्ना हुन पाइरहेका छैनन् । मलहु सदायका पत्नी रामकुमारी सदाय भन्नुहुन्छ,“नागरिकतालाई चाहिने आवश्यक कागजात लिएर सिरहा जिल्ला प्रशासन कार्यालय पाँच पटक पुगे नागरिकता बनाइदिएनन् । पाँचौँ पटक जाँदा एक कर्मचारीले झ्यालनजिक बोलाएर नागरिकता बनाउन ३० हजार रुपियाँ मागे । पतिले यति धेरै रुपियाँ कहाँबाट ल्याएर दिने भनेपछि घर फर्किर आयौँ ।”

मलहु सदाय र रामकुमारी सदायका आठ वर्षीय छोरी चन्द्रिका सदाय र सात वर्षीय छोरी चन्दा सदायको जन्मदर्ता नहुँदा विद्यालयमा भर्ना भएको छैनन् । मलहु र रामकुमारी सदाय जस्तै त्यस्ता बस्तीमा ३० जनाले नागरिकता पाएका छैनन् । हरवाचरवा कार्यक्रम अन्तर्गत दलित जनकल्याण युवा क्लब लहानबाट सहजकर्ता आशा विश्वकर्माले धमिनी महिता तथा बचत कार्यक्रम सञ्चालन गरेपछि त्यस समूहमा डेढ लाख रुपियाँ जम्मा भएको उहाँले बताउनुभयो । नागरिकता नभएका मसुहर समुदायको नागरिकता र जन्मदर्ताका लागि धनगढीमाई –९ का वडाअध्यक्ष प्रकाश योञ्जन सक्रियताका साथ लाग्नुभएकाले समस्या समाधान हुनेमा आशावादी रहेको महिला समूहका अध्यक्ष पुकारी रामले बताउनुभयो ।

बरियारपट्टी वडा नं ३, तिलैया बतीका मुसहर समुदायका ५५ घरपरिवारमध्ये १० जनाको नागरिकता नहुँदा बालबालिकाको जन्मदर्ता बनिरहेको छैन । तिलैयानजिक रहेको विद्यालयमा मुसहर समुदायको बालबालिका भर्ना हुनबाट वञ्चित भएका हरवाचरवा कार्यक्रम अन्तर्गत जय माँ दुर्गा महिला बचत समूहकी अध्यक्ष कबुतरीदेवी सदायले बताउनुभयो । उहाँले भन्नुभयो, “ऐलानी जग्गामा घर छ । नागरिकता नहुँदा बालबालिकाको भर्ना भएको छैन ।”

मुसहर बस्तीमा नागरिकता टोली खटाएर समस्याको समाधान गरिने आश्वासन विभिन्न नेताले पटक पटक दिए पनि समस्या ज्युँका त्युँ छ । औरही गाउँपालिका –४ इटाटारका मुसहर समुदायको पीडा पनि नागरिकता र जन्मदर्ता नै रहेको छ । नागरिकता र जन्मदर्ता नहुँदा विभिन्न सरकारी सुविधा बालबालिका विद्यालय भर्ना हुनबाट वञ्चित भइरहेको स्थानीय कमलेश सदायले बताउनुभयो । वडाध्यक्ष सुरेन्द्र यादवका अनुसार पहिले धेरै जनाको नागरिकता थिएन । बनाउँदा बनाउँदै अझै पनि केही घरपरिवारको नागरिकता नभएको अवस्था छ । नागरिकताका लागि आवश्यक कागजात जुटाएर नागरिकता र जन्मदर्ता बनाउन वडा कार्यालयबाट नै पहल भइरहेको छ ।

मधेश प्रदेश सभा सदस्य ललितादेवी दासले मुसहर समुदायको अवस्था हेर्दा ती समुदायका लागि कुनै सरकार नै नरहेको अनुभव सुनाउनुभयो उहाँले थप्नुभयो, “मधोश प्रदेश सभामा आवाज उठाउदै आइरहेको छु । मुसहर समुदायको नागरिकता र जन्मदर्तासँगै आवास, शिक्षा, स्वास्थ्य र रोजगारीको कार्यक्रम तीनै तहको सरकारले गर्न आवश्यक छ ।”

आजको गोरखापत्र पत्रिकामा खबर छ ।

सम्बन्धित खबर

सिफारिस