ललिता निवास जग्गा प्रकरणः अरूणकुमार श्रेष्ठ कारागार चलान

दियो पोस्ट  

काठमाडौं । ललिता निवास प्रकरणमा पक्राउ परेका एकजना अभियुक्तले धरौटी तिर्न नसकेपछि कारागार चलान भएका छन् । नापी कार्यालय मैतिदेवी काठमाडौंका तत्कालीन अमिन अरूणकमार श्रेष्ठ कारागार चलान भएका हुन्। अदालतले उनीसँग ७ लाख ५० रुपैयाँ धरौटी माग गरेको थियो।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश भोलानाथ ढकालको इजलासले आइतबार पक्राउ परेका १८ जनालाई नै रिहा गर्न आदेश दिएको थियो। एक जनालाई साधारण तारेख र १७ जनासँग धरौटी माग गरेको थियो।

१७ जनामध्ये एक जना आरोपीले भने धरौटी बुझाउन नसकेपछि केन्द्रीय कारागार जगन्नाथदेवलमा चलान भएका छन्।
उनी कारागार चलान भएको कारागारका जेलर ललितकुमार बस्नेतले जानकारी दिए। उनका अनुसार श्रेष्ठले धरौटी जुटाए छुट्न सक्छन्। तर धरौटी बुझाउन नसकेको अवस्थामा उनी फैसला नहुञ्जेलसम्म पनि कारागारमै रहने जेलर बस्नेतले बताए।

आइतबार इजलासले भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरूङसँग दुई करोड ४६ लाख धरौटी माग गरेको थियो। धरौटी बुझाएर उनी आइतबार राति नै छुटेका थिए।