जमिन्दारको स्वार्थमा सडक निर्माण

दियोपोस्ट संवाददाता

काठमाडौं । जमिनदार रितनन्द साहको स्वार्थका लागि नियमविपरीत सडक निर्माण गरेको पाइएको छ । सहायक हुलाकी राजमार्ग पनि भनिने विष्णुपुर –बोदेबर्साइन–स्वर्णपट्टी सडक निर्माणका क्रममा सीमित व्यक्तिको स्वार्थ पूर्तिका लागि नियमविपरीत सडक निर्माण गरेको पाइएको हो । जसमा अन्य आधिकारिक निकायले पनि साथ दिएको पाइएको छ । सप्तरीको बोदेबर्साइनमा २२ किलोमिटरको विष्णुपुर–बोदेबर्साइन–स्वर्णपट्टी सडक निर्माणका क्रममा सडकको बीचबाट दायाँ पट्टी १५ मिटरको हिसाबले ३० मिटर चौडा सडक निर्माण गर्दा त्यसभित्र पर्ने जग्गाहरु अधिग्रहण गरिएको थियो । सडकखण्डभित्र पर्ने जमिनको मुआब्जाको काम सम्पन्न भएपछि सडक निर्माणको जिम्मा हुलाकी राजमार्ग योजना इटहरीले दिवा निर्माण सेवा प्रालिलाई दिएको थियो । योजनाअनुसार नै २०७६ मा सडक निर्माण भने सरकारले अधिग्रहण गरेको जमिनभन्दा फरक जमिनमा गरेको पाइएको छ ।

अदालतको फैसला टेर्दैनन् जमिन्दार

जमिनदारसँगको मिलेमतोमा जनप्रतिनिधि र प्रहरी नै जग्गा हडपेर अवैध सडक निर्माणमा जुटेपछि पीडितहरु अदालत पुगेका थिए । पीडितहरुमध्ये नरेन्द्रनारायण साहु र बोदेबर्साइन–९ का सजनादेवी तेलिनले उच्च अदालत राजविराजमा मुद्दा हाल्नु भएको थियो । उहाँहरुले बोदेबर्साइन नगर प्रमुख आतेशकुमार सिंह यादव, हुलाकी सडक आयोजना कार्यालय इटहरी, ठेकेदार कम्पनी दिवा निर्माण सेवा सातदोबाटो ललितपुर लगायतलाई विपक्षी बनाई दायर गरेको मुद्दामा २०७५ मंसिर २५ मा उच्चले अन्तरिम आदेशमार्फत थप काम अघि नबढाउन ओदश दियो । २०७६ वैशाख २२ गते अन्तिम फैसला सुनाउँदै उच्चले प्रमाणित नापनक्साभन्दा बाहिर गएर सर्वसाधारणको जग्गा हडपिने गरी सडक निर्माण नगर्न आदेश दिएको छ । अदालतले सडक निर्माण कार्य अघि नबढाउन र हडपिएको जग्गा पीडितलाई फिर्ता गर्न निषेधाज्ञा परमादेश जारी गरेपनि पैसा र पहुँचको आडमा जमिनदार, बोदेबर्साइनका मेयर सिंह यादव र प्रहरी प्रशासनको मिलेमतोमा निरन्तर अवैध सडक निर्माण कार्य अघि बढाइरएको थियो । अदालतको आदेशको अवहेलना गरिएको थियो । फैसला कार्यान्वयन नभएपछि पटक–पटक अदालत स्वयंले फैसला कार्यान्वयका लागि पत्र लेखेको छ ।

२०७९ फागुन १७ गते सर्वोच्च अदालतको फैसला कार्यान्वयन निर्देशनालयले हुलाकी सडक आयोजना कार्यालय इटहरी सुनसरी, बोदेबर्साइन नगरपालिका र ठेकेदार कम्पनी दिवा निर्माण सेवाको नाममा निर्देशनात्मक पत्र काटेको थियो । तर पनि अवैध काम रोकिएन । उच्च अदालत जनकपुरको राजविराज इजलासले पनि २०८० जेठ २१ गते फैसला कार्यान्वयनका लागि नगरपालिका, जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालयलाई पत्र काटेको थियो । त्यसो दुई पछि अर्थात् ०८० जेठ २३ गते पुनः सर्वोच्च अदालतकै फैसला कार्यान्वयन गर्न पत्र काटे पनि अवैध रुपमा सडक निर्माणको काम रोकिएन ।

नापनक्सा एकातिर, सडक अर्कोतिर

सुरुमा सडक निर्माणका लागि भनेर सरकारले जमिन अधिग्रहण गरेपछि सर्वसाधारणले आफ्नो जमिन छाडेका थिए । तर सरकारले नापनक्सा गरेको जग्गामा नभएर अवैध रुपमा अर्को जमिनमा सडक निर्माण गरियो । नापनक्सांकन गरेको भन्दा फरक जमिनमा सडक निर्माण गर्दा सर्वसाधारणकै जमिन अवैध रुपमा हडपिएको छ । बोदेबर्साइनका कथित ‘जमिनदार’ रितनन्द साहलगायतका स्वार्थ पूर्तिका लागि आधिकारिक सर्भे अनुसारको नापनक्साभन्दा बाहिर गएर अवैध रुपमा सडक निर्माण गरिँदा झण्डै दर्जन सर्वसाधारणको जग्गा हडपिएको हो । जमिन हडपिँदा जग्गाविहीन बनेका पीडितहरु भने मर्कामा परेका छन् ।

उत्तरदक्षिण पर्ने यो सडकखण्ड बोदेबर्सानभन्दा भारतीय दक्षिण सीमापट्टिको खण्डमा दुई दर्जनभन्दा बढी सर्वसाधारणको जग्गा हडपिएको छ । सडककै लागि भनेर उनीहरुले जग्गा छोडेको भए उक्त जग्गामा निर्माण कार्य नगरी थप जग्गा हडपेर सडक निर्माण गरिएको हो । सरकारले गरेको सडक नापनक्सामा त्यहाँ रहेका केही जमिनदारको जग्गाबाट सडक लैजानका लागि नियमविपरीत नै सडक निर्माण भएको स्थानीयको आरोप छ । त्यस जमिदारको जग्गाबाट सडक निर्माण गर्दा अन्य कतिपय सर्वसाधारणको निजी जग्गासमेत हडप्ने काम भएपछि उनीहरु मर्कामा परेका हुन् ।

आवाज उठाउँदा पीडिबमाथि नै कुटपिट

कथित जमिनदारहरुको अन्याय पूर्ण यो काममा स्थानीय सरकारका जनप्रतिनिधि तथा प्रहरी प्रशासन समेतको संलग्नता देखिन्छ । पादर्शीता सुनिश्चित गरी सुलभ र गुणस्तरीय सेवा प्रवाह, स्थानीय शासन पद्धतिलाई सुदृढ गरी न्यायिक अभ्यासलाई संस्थागत गर्ने दायित्व बोकेको स्थानीय सरकारका प्रमुख र शान्तिसुरक्षा तथा सुव्यवस्थालाई कायम राख्ने कर्तव्य बोकेको प्रहरी नै पीडकसँग मिलेर पीडितको घाउमा नुनचुक छर्कने काममा लागेको प्राप्त प्रमाणहरुले देखाउँछ । बोदेबर्साइन नगरपालिकाका प्रमुख आतेशकुमार सिंह यादवलाई कैयौँपटक यसरी आधिकारिक नाप नक्साभन्दा बाहिर गएर, त्यो पनि आफुहरुले जग्गा मिचिने गरी अवैध सडक निर्माण नगर्न आग्रह गरे पनि उल्टै आफुहरुमाथि नै आइलागेका पीडित नरेन्द्रनाराणको भनाइ छ ।

जबरजस्ती रुपमा सडकको ट्रयाक पहिल्यै खोलिएको भए पनि २०८० असार २ गते रातारात कालोपत्र गरिएको हो । त्यसक्रममा पनि पीडितहरु त्यहाँ पुगेका थिए, तर प्रहरी, नगर प्रहरी र जमिनदार पक्षका व्यक्तिहरुले पीडितहरुलाई कुटपिट गर्नुका साथै उनीहरुको मोबाइलसमेत खोसिएको छ । त्यो मोबाइल अहिले सम्म फिर्ता गरिएको छैन । ‘असार २ गते पिच गर्ने क्रममा स्वयं प्रहरीले नै कुटपिट गर्नुका साथै उनीहरुको मोबाइल पनि अहिलेसम्म फिर्ता गरिएको छैन ।

आजको हिमालय टाइम्स पत्रिकामा खबर छ ।

सम्बन्धित खबर

सिफारिस