खुलेन सुन तस्करीको मुख्य कारोबारी

दियो पोस्ट  

काठमाडौं । सुन तस्करीको अनुसन्धान गरिरहेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले अनुसन्धानको प्रतिवेदन बुझाउने समय नजिक आउँदा पनि लगानीकर्ता यकिन गर्न सकेको छैन । चीनतर्फका लगानीकर्ता चिनियाँ नागरिक नै हुन् भने पनि प्रमुख व्यक्ति अझै पत्ता लागिसकेको छैन । त्यस्तै भारततर्फ किन्ने समूह पनि पत्ता लागिसकेको छैन । ‘हालसम्म पक्राउ परेकाहरु बिचैलिया र नेपालबाट सुन सप्लाई गर्नेहरु मात्र रहेका छन्,’ सिआइबी स्रोतले भन्यो ।

संगिठत अपराध र अन्तरआदेशीय अपराधमा अनुसन्धान गरिरहेको सिआइबीले अनुसन्धानकालागि समय अपुग भएको र यसलाई निरन्तरता दिनुपर्ने उल्लेख गर्दै एकदुई दिनमै प्रतिवेदन सरकारी वकिलको कार्यालय पठाउने भएको छ । सिआइबीका प्रमुख आइजी किरण बज्राचार्यले अनुसन्धानको प्रतिवेदन तयार गरिहाल्नुपर्ने कानुनी बाध्यता रहेकाले एकदुई दिन भित्रै सरकारी वकिल कार्यालय पठाउने बताइन् । ‘६० दिनभित्र अदालतमा मुद्दा टेकाइ सक्नुपर्ने कानुनी बाध्यता रहेको छ, जसले गर्दा अनुुसन्धान प्रतिवेदन चाँडै बुझाउनुपर्ने बाध्यता रहेको हो,’ एआइजी बज्राचार्यले भनिन् । सरकारी वकिल कार्यालयले ताकेता गरेकाले सिआइबीले सकेसम्म मंगलबारै अनुसन्धान प्रतिवेदन बुझाउने तयारी गरेको छ ।

साउन ३ गते साँझ त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाहिर बरामद करिब ६० किलो सुन तस्करीको अनुसन्धानका क्रममा प्रहरीले अहिले सम्म मुख्य कारोबारी पक्राउ गर्न सकेको छैन । सिआइबीले २०७९ सालको निर्वाचनको अघिदेखि नै सुन तस्करी हुने गरेको जनाएको छ । २०७९ पुस १० गते फ्लाई दुबईको उडान नम्बर एफजेड–०५८७ बाट नेपाल आएका चिनियाँ यात्रु ली हानसोङले लगेजमा राखी इलेक्ट्रिक सिगरेट (भेप) भित्र ठुलो मात्रामा सुन एकै कारोबारीको भएको तर त्यसको प्रमुख लगानीकर्ता भने फेला नपरेको जनाएको छ । ली हानसोङ फरार छन् भने दाओजिन वाङमध्ये को लगानीकर्ताको बिचौलिया हुन् भन्ने खुलको छैन । साथै उनीहरु दुवै जना नेपालमा नभएको उनीहरुको विवरण चिनियाँ प्रहरीबाट प्राप्त नगरेकाले सिआइबी अन्योलमा रहेको छ ।

त्यतिबेला भन्सार विभागले ई–सिगरेट बरामद गरेर यात्रुलाई छाडेको थियो । सिआइबीले केही दिन मात्रै वाङ बस्ने सीतापाइलस्थित कोठामा छापा मारेको थियो । त्यहाँबाट सेफ बरामद गरेको भए पनि सुन तस्करीलाई पुष्टि हुने कागज भने फेला पारेको थिएन । ‘एउटा डिजिटल सेफ बरामद भएको छ । बाँकी केही भेटिएन,’ सिआइबी स्रोतले भन्यो । ली ली हानसोङ र दाओजिन वाङबिच पुरानो सम्बन्ध भए पनि उनीहरुले के कसरी तस्करी गरिरहेका थिए भन्नेबारे भने भेप बरामदबाहेक केही खुलेको छैन ।

साथै करिब ६० किलो सुन तस्करीमा पक्राउ परेका याओ पुचेङ, ली वेन सुङ पनि सुन तस्करीको सञ्जालमा पहिलो घेराभित्रै रहेको तर उनीहरुको भुमिकाबारे केही पत्ता नलागेको सिआइबीले जनाएको छ । प्रहरीले ६० किलो सुन तस्करी प्रकरणसँग जोडेर होटल भियनाका मालिक एंव बेल्जियन नागरिक दावा छिरिङ पक्राउ परेका भए पनि उनकी पत्नी अमला रोका भने अझै फरार छिन् ।

उनलाई प्रहरीले खोजिरहेको छ । त्यस्तै सो प्रकरणमा जोडिएका दुई भारतीय नागरिक पनि फरार रहेको सिआइबी स्रोतले जनाएको छ । ‘पक्राउ पर्नुपर्ने अमला रोका पक्राउ परेकी छैनन्, दावा छिरिङ पक्राउ परेको भोलिपल्टदेखि नै उनी मोबाइल अफ गरेर फरार छिन्,’ सिआइबी स्रोतले भन्यो । भारतीय कनेक्सन र आंशकित व्यक्तिको खोजिको लागि भारत पुगेका डिएसपी धर्म भण्डारी सुनम खरेललाई लिएर फर्किए । खरेलकै बयानबाट बाराका सुनचाँदी व्यवसायी शिव सर्राफ पक्राउ परे ।

आजको नागरिक दैनिका पत्रिकामा खबर छ ।