
काठमाडौं । काठमाडौं उपत्यकाका अस्पतालमा खोकी र ज्वरोको सिकायत लिएर आउने बिरामी बढिरहेका छन् । तर उनीहरुमा के कारणले खोकी र ज्वरोको समस्या देखिएको भन्ने यकिन हुन नसकेको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । वीर अस्पतालमा दुई सातादेखि ज्वरो र खोकीका बिरामी आउने क्रम बढेको तर परीक्षण गर्दा कारण यकिन हुन नसकेको मेडिसिन विभागका डा. ध्रुव गैरेले बताए ।
डा. गैरेका अनुसार धेरैजसो बिरामीमा डेंगी पोजेटिभमा जस्तो जिउ दुख्ने, टाउको दुख्ने, ज्वरो आउने, निद्रा नलाग्ने, वाकवाकी लाग्ने, पखाला लाग्ने, खाना खान मन नलाग्नेजस्ता समस्या देखिएका छन् । तर ल्याब परीक्षण गर्दा कसैको पनि डेंगी प्रमाणित नभएको उनले बताए । ‘ल्याब परीक्षण गर्दा डेंगी पोजिटिभ छैन, लक्षण पुरै डेंगीको जस्तो देखिन्छ’, उनले भने ।
सबै लक्षण डेंगीसँग मिल्छ तर परीक्षण गर्दा पुष्टि नभएपछि डेंगीको नयाँ भरियन्ट उत्पत्ति भएको हुन सक्ने उनको अनुमान छ । ‘कुनै–कुनै बिरामीमा टाइफाइड देखिन्छ । तर डेंगी कसैमा पनि प्रमाणित भएको छैन’, उनले भने । सामान्य औषधि सेवनले ज्वरो नियन्त्रण हुन नसकेको डा. गैरले बताए । वीर अस्पतालका अनुसार मेडिसिन विभागमा दुई सातायता दैनिक ज्वरो र खोकीको समस्या लिएर सरदर ६० जना आइरहेका छन् । केही बिरामीलाई भर्ना लिएर उपचार गरिएको छ । झापा, मोरङ र सुनसरी घुमेर आएका धेरै जसो यस्तो समस्या लिएर आएको जाकारी डा. गैरले दिए ।
त्रिभुव विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जमा पनि यस्तै लक्षणका बिरामी आइरहेको जनरल प्राक्टिक्स विभागका प्रमुख डा. योगेन्द्र शाक्यले बताए । अस्पतालको आकस्मिक कक्षका अनुसार दैनिक २० जनाजति ज्वरो र खोकी बिरामी आउने गरेका छन् । तर एकाधबाहेक धेरैमा डेंगी परीक्षण गर्दा पुष्टि नभएको डा. शाक्यले बताए । ज्वरो र खोकीको बिरामीको लक्षण डेंगीको जस्तै डेंगी संक्रमणको सात दिन पहिला र १५ दिनपछि परीक्षण गर्दा नेगेटिभ आउन सक्ने भएकाले अस्पतालले ज्वरोका बिरामीलाई भिन्नै राखेर उपचार गरिरहेको उनले बताए । डेंगी पुष्टि भएका ८ जनालाई भने भिन्नै वार्डमा झुल टाँगेर उपचार गरिरहेको उनले बताए ।
आजको नागरिक दैनिक पत्रिकामा खबर छ ।