धनुषा । धनुषामा सडकको खाल्डोमा खसेर २ वर्षीय बालकको मृत्यु भएको छ ।
जिल्लाको जनकपुरधाम उपमहानगरपालिका–२५ लोहनाको हजाम टोलमा सडक निर्माणको क्रममा ठेकेदारले खुल्ला छाडेको खाल्डोमा खसेर २ वर्षीय बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने रञ्जित मुखियाका २ वर्षीय छोरा रोहन मुखिया रहेका छन् ।
घर वरपर खेलिरहेका रोहन कतै नदेखिएपछि परिवारले खोजी गर्दा सडकमा खुला छाडिएको चेम्बरमा खसेका अवस्थामा भेटिएका थिए।
उपचारका लागि तत्काल प्रादेशिक अस्पताल जनकपुर लगिएकोमा चिकित्सकले बालकको मृत्यु भएको घोषणा गरेको थियो।
स्थानीय नथुनी मण्डलका अनुसार मधेश प्रदेश सरकारको बजेटमा दुई वर्ष अघि ढलान भएको सडकमा नालाको लागि बनाइएको चेम्बरमा ढक्कन लगाइएको छैन ।
ठेकेदार र उपमहानगरपालिकाकालाई पटक–पटक ढक्कन लगाउन आग्रह गर्दा पनि अहिलेसम्म नलगाइएको र त्यसमा खसेर बच्चाको मृत्यु हुने गरेको स्थानीयको भनाइ छ ।
शुक्रबार बिहान २ वर्षीय बालक रोहनको खाल्डोमा खसेर मृत्यु भएपछि स्थानीयवासी आक्रोशित छन् ।
जिल्ला प्रहरी कार्यालय धनुषाले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ।