काठमाडौं । कुनै समय स्याङ्जाको मालुङ्गा टुनिबोटलाई कुष्ठरोगी बस्ने ठाँउ भनेर चिनिन्थ्यो । गल्याङ नगरपालिका–१ मा पर्ने मालुङ्गा गए कुष्ठरोग सर्छ भनेर बाटो हिँड्नसमेत बटुवा डराउँथे । टुनिबोट बाइसे चौबिसे राज्यका बेलामा नुवाकोटका राजाको पाल्पा आक्रमणका लागि १९५२ बाट हातहतियार राख्न प्रयोग गरिएको ठाउँसमेत हो ।
हातहतियार राख्न प्रयोग गरेको १२० मिटर लामो इँटा र माटोले बनाएको दरबारलाई श्री ३ महाराज खड्गशमशेरले १९९७ सालमा नेपालभरका ४२२ कुष्ठरोगीलाई उपचार गर्न यही ठाउँको प्रयोग गर्नुभएको थियो । लामो समय कुष्ठरोग बस्ने स्थान मालुङ्गा टुनिबोट अहिले अस्पतालमा रुपान्तरण भएको छ । यहाँ बिरामीले प्राथमिक स्वास्थ्य केन्द्रबाट सेवा पाउने गर्छन् । अहिले सरकारले सर्वसाधारणका लागि सुविधा सम्पन्न १५ बेडको स्वास्थ्य केन्द्र (अस्पताल) तीव्र रुपमा निमार्ण गरिरहेको पनि छ ।
कुष्ठरोगी पोखरा पुनस्र्थापना भएसँगै कुष्ठरोग निवारण सङ्घसँग १९ रोपनी नौ आना भाडामा लिएर प्राथमिक स्वास्थ्य केन्द्र बनाएको र अहिले उक्त जग्गा अस्पतालको नाममा समेत आइसकेको छ । टुनिबोटमा बिरामीको सङ्ख्या घट्दै गएपछि बाँकी रहेका ८२ रोगीलाई कुष्ठरोग निवारण सङ्घले २०४६ सालमा पोखरा सारेको थियो । वडाध्यक्ष मणिप्रसाद बस्यालले कुष्ठरोगीलाई पोखरा सारेको चार वर्षमा पुरानो भवन फालेर प्राथमिक स्वास्थ्य केन्द्र बनाएर डाक्तरसहितका सेवा दिन थालिएको बताउनुभयो ।
२०४८ सालको निर्वाचनमा चुनाव प्रचारका क्रममा नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालासँग स्थानीयले स्वास्थ्य केन्द्र माग गरेसँगै २०५० सालमा सरकारले देशभर २० प्राथमिक स्वास्थ्य केन्द्र स्थापना गर्दा यहाँ पनि बनेको हो । लामो समय कुष्ठरोगी बसेका कारण त्रासमा रहने टुनिबोटमा अस्पताल निर्माणसँगै अहिले स्थानीयसमेत हर्षित भएको बस्यालले बताउनुभयो ।
आजको गोरखापत्र पत्रिकामा खबर छ ।