चार–चार महिनामा अर्थ सचिव सरुवा

दियोपोस्ट संवाददाता

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा रहेका कृष्णहरि पुष्करलाई दोस्रो पटक अर्थ सचिवको जिम्मेवारी दिइएको छ । मन्त्रिपरिषद् बैठकले शुक्रबार अर्थ सचिव अर्जुन पोखरेललाई हटाएर पुष्करलाई जिम्मेवारी दिएको हो । पोखरेललाई प्रधानमन्त्री कार्यालयमा सरुवा गरिएको छ ।

तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिको सहभागितामा राजस्वको दर हेरफेर गराएका बेला पुष्कर राजस्व सचिव थिए । त्यतिबेला दर हेरफेरमा उठेको प्रश्नको उत्तर राजस्व सचिवले पनि दिनुपर्ने आवाज उठेको थियो । तर उनले नैतिक जिम्मेवारी नलिएका मात्रै होइन, अर्थ सचिवामा पुरस्कृत भएका थिए । राजस्वका दर हेरफेरको विषय पेचेलो बनेपछि ०७९ साउनमा तत्कालीन अर्थ सचिव मधु मरासिनीलाई हटाएर पुष्करलाई सचिव बनाइएको थियो ।

अर्थ मन्त्रालयमा पछिल्लो नौ महिनामा तीन जना सचिव फेरिएका छन् । अर्थतन्त्र चलायमान हुन नसकेको भन्दै चौतफीै आवाज उठिरहेको बेला सचिव पोखरेललाई चार महिना १० दिनमा सरुवा गरेर पुष्करलाई ल्याइएको छ । अर्थमन्त्री प्रकाशशरण महतले चालु वर्षको बजेट निमार्णका बेला गत वैशाखमा पोखरेलाई सचिवको जिम्मेवारी दिएका थिए । चार महिनामै पोखरेललाई हटाएर पुष्करलाई जिम्मेवारी दिनुको कारण सार्वजनिक भएको छैन । पुष्कर हाल बेलायत भ्रमणमा छन् ।

निवर्तमान अर्थमन्त्री विष्णु पौडेलले पुष्करलाई हटाएर गत पुसमा तोयम रायालाई सचिव बनाएका थिए । रायाले पनि अर्थ सचिवका रुपमा चार महिना मात्र काम गर्ने अवसर पाए । महत अर्थमन्त्री भएपछि रायालाई हटाएर पोखरेललाई गत वैशाख २० को मन्त्रिपरिषद् बैठकले सचिवको जिम्मेवारी दिएको थियो । उनी चार महिना १० दिन अर्थसचिव भए । त्यसअघि प्रशासन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव थिए ।

पुष्करलाई गत भदौ पहिलो साता संघीय मन्त्रालयबाट प्रधानमन्त्री कार्यालयमा सरुवा गरिएको थियो । पुष्करलाई सरुवा गरेर संघीय मन्त्रालयको सचिवमा विनोद सिंहलाई पठाइएको थियो । पुष्कर संघीय मन्त्रालयमा पाँच महिना सचिव भए । प्रधानमन्त्री कार्यालयमा सरुवा भएको महिना नबित्दै पुष्करलाई अर्थ सचिवको जिम्मेवारी दिइएको हो ।

आजको कान्तिपुर पत्रिकामा खबर छ ।

सम्बन्धित खबर

सिफारिस