काठमाडौं । नक्कली बैंक स्टेटमेन्ट बनाएको आरोपमा एक कन्सलटेन्सी सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ । पुतलिसडकस्थित करिअर विङ्स कन्सलटेन्सीका सञ्चालक ताराचन्द शर्मालाई प्रहरीले पक्राउ गरेको हो ।
उनले अस्ट्रेलिया जाने एक विद्यार्थीको नक्कली स्टेटमेन्ट बनाई भिसाका लागि अप्लाई गरेका थिए । खातामा ६४ लाख १० हजार बचत रहेको देखाएर माछापुच्छ्रे बैंकको नक्कली स्टेटमेन्ट प्रिन्ट गराएका थिए ।
सोही आधारमा ती विद्यार्थी अस्ट्रेलियाको कलेजमा भर्ना भए । उता गएपछि ती विद्यार्थीले कन्सलटेन्सीले आफ्नो नक्कली स्टेटमेन्ट बनाएको पत्ता लगाएपछि बैंकलाई खबर गरेका थिए ।
सोही आधारमा बैंकको उजुरीका आधारमा शर्मालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी कुमोध ढुंगेलले बताए । शर्मालाई बैंकिङ कसुर मुद्दामा अनुसन्धान अधि बढाइएको उनको भनाइ छ । स्टेटमेन्ट बनाएको शुल्क विद्यार्थीसँग लिएर शर्माले नक्कली बनाएका थिए ।
स्रोेत अनुसार सो कन्सलटेन्सीले अरु धेरै विद्यार्थीको पनि नक्कली स्टेटमेन्ट बनाएको आशंकामा अनुसन्धान सुरु भएको छ । यसम सञ्चालकसहित अन्य कर्मचारीहरु पनि छानबिनमा छन् ।
कन्सलटेन्सीहरुले बैंक स्टेटमेन्ट मात्र नभई शैक्षिक प्रमाणहरुसमेत नक्कली बनाउने गरेको सूचना प्रहरीले पाएको छ । खासगरी बागबजार क्षेत्रका कन्सलटेन्सीहरुले भिसाका लागि उच्च प्राप्तांसहितको नक्कली प्रमाणपत्र पेस गरेको उजुरी प्रहरीमा परेका छन् ।
नयाँ पत्रिकामा खबर छ ।