काठमाडौं । न्यून तथा मध्यवर्गीय युवाहरुको समस्यालाई मध्यनजर गर्दै मन्त्रालयले वैदेशिक रोजगार कर्जा उपलब्धताको योजना बनाएको छ । वैदेशिक रोजगारीमा जाने युवाको प्रक्रिया अन्तिम चरणमा पुगेपछि कर्जा प्रदान गरिनेछ । सीधै म्यानपावर व्यवसायको खातामा जाने गरी न्यून ब्याजदर कर्जा उपलब्धताको व्यवस्था गर्ने मन्त्रालयको योजना छ । श्रमिकले चर्को ब्याज लिएर रोजगारीमा जान नपरोस् भन्ने सरकारको उद्देश्य हो ।
सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई वैदेशिक रोजगार कर्जा उपलब्ध गराउने तयारी गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कर्जाका लागि बैंक तथा वित्तीय वा सामाजिक सुरक्षा कोषलाई विकल्पको रुपमा लिएको छ ।
न्यूनवर्गीय युवालाई बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिन कठिन हुने कारण सहकारी तथा व्यक्तिबाट नै चर्को ब्याज लिन बाध्य छन् । जसको कारण अधिकांश वैदेशिक रोजगारीमा जाने युवा मिटरब्याजको फन्दामा पर्ने अवस्थालाई मध्यनजर गर्दै सरकारले यस्तो कर्जाको तयारी गरेको हो ।
वैदेशिक रोजगारी कर्जाले पादर्शिता ल्याउने
श्रम, रोजगार तथा सामजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारी कर्जाले रोजगारीको क्षेत्रमा पादर्शिता कायम हुने बताएको छ । कर्जा योजना अनुसार श्रमिकले लिने कर्जा बैंकबाट सिधै म्यानपावर व्यवसायीको खातामा जाने हुने व्यवसायीले तोकेभन्दा बढी शुल्क लिन नपाउने श्रम मन्त्रालयका प्रवक्ता डुन्डुराज घिमिरेले बताए । कर्जा योजना सुरु हुनुपुर्व मन्त्रालयले म्यानपावर व्यवसायीको शुल्क तोक्ने छ ।
सोहीअनुसार गन्तव्य मुलुक र श्रमिकको कामको प्रकृतिअनुसार रकम भुक्तानी गर्नेछ । म्यानपावर व्यवसायीलाई जति रकम भुक्तानी गर्नुपर्ने हो, त्यति मात्रै बैंकबाट व्यवसायीको खातामा जाने हुँदा रकम भुक्तानी पारदर्शीक हुनेछ । ‘रकम भुक्तानी गरेको रेकर्ड हुने हुँदा म्यानपावर व्यवसायीले श्रमिकलाई ठंग्न पाउनेछैनन् । त्यस्तै श्रमिकले भुक्तानी गरेको रकमअनुसार सरकारले व्यवसायीबाट कर पनि प्राप्त गर्नेछ,’ घिमिरेले भने ।
यस्तो कर्जाले रेमिट्यान्सलाई प्रोत्साहित गर्ने
वैदेशिक रोजगारी कर्जाले रेमिट्यान्सलाई प्रोत्साहित गर्ने मन्त्रालयको ठहर छ । कर्जा प्रदान गर्ने बैंक मार्फत नै श्रमिकहरुले रेमिट्यान्स पठाउने व्यवस्था हुनेछ । ‘बैंकबाट कर्जा पाएपछि बैंक प्रति श्रमिकको विश्वास पनि बढ्नेछ । बैंकप्रति आत्मीयता पनि हुनेछ । भोलिका दिनमा रेमिट्यान्स पठाउँदा सोही बैंक मार्फत पठाउनेछन्,’ प्रवक्ता घिमिरेले भने ।
आजको नयाँ पत्रिकामा खबर छ ।