
काठमाडौं । कुवेतस्थित नेपाली दूतावासको गल्तीका कारण एक नेपाली युवा लामो समयदेखि त्यहाँ जेल जीवन बिताइरहेको तथ्य बाहिरिएको छ । मोरङ बेलबारी नगरपालिका–९ बाहुनीका अरुणकुमार राजंवशीले आफू अनाहकमा जेल जिवन बिताइरहेको भन्दै बाबुआमाको नाममा पत्र लेखेपछि सो तथ्य बाहिरिएको हो ।
उनले तीन महिनादेखि आफुलाई कुवेतको सोइरब भन्ने ठाउँको दुवाराजम सीर्आइडी पुलिस जेलमा राखिएको पत्रमा उल्लेख गरेका छन् । ट्राभल डकुमेन्ट्स बनाउने क्रममा नेपाली दुतावासले भारतीय नागरिक भनी उल्लेख गरिदिएकाले आफूले समस्या भोग्नुपरेको उनले पत्रमा लेखेका छन् । राजंवशीले आफ्नो समस्यालाई लिएर पटकपटक दुतावाससमक्ष अनुरोध गरे पनि बेवास्ता गर्ने गरेको पनि पत्रमा उल्लेख गरेका छन् । उनले ‘आफ्नो सिभिल आईडीको फोटो खिची अन्य कागजात मिलाई कुवेत पुलिसले नेपाल पठाउँछु, सफर जेलमा लग्दा राष्ट्रियता फरक पर्न गई म नेपालीलाई भारतीय नागरिक बनाई दिएकाले नेपाल फर्कन समस्या भएको’ पत्रमा उल्लेख गरेका छन् ।
कुवेत पुलिसले आफूलाई भारतीय नागरिक भन्दै नेपाल फर्कन रोक लगाएपछि कुवेतमा रहेको नेपाली दूतावासमा राष्ट्रियता सच्याई दिन पटकपटक अनुरोध गर्दा पनि नसुनेको र दुतावासको कर्मचारी जेलमै आएको बेलामा भेटेर समस्या सुनाउँदा पनि कुनै सुनवाइ नगरेपछि पत्र लेखेको उनले बताए ।
दूुतावासले बेवास्ता गरेपछि पत्रमार्फत घरपरिवारलाई जानकारी गराएपछि उनको परिवारले सो पत्र कुवेतमा रहेका विभिन्न संघसंस्थालाई पठाएपछि दूतावासको गल्ती बाहिरिएको हो ।
आजको राजधानी पत्रिकामा खबर छ ।